मुगु स्थित मतदान केन्द्रमा रहेका हातहतियार, कर्मचारी र मतदान सामाग्री कब्जामा
मुगु, ३० वैशाख । कर्णाली अञ्चलको विकट जिल्ला मुगुमा एक मतदान केन्द्र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कब्जामा लिएका छन् ।
नेकपाका कर्णाली ब्यूरो इन्चार्ज एटमका अनुसार मुगु जिल्लाको रारा छायानाथ नगरपालिका वार्ड नं. १२ शोबा भन्ने ठाउँमा रहेको मतदान केन्द्र कब्जा भएको हो । नेकपाका कार्यकर्ताले मतदान केन्द्रका सबै सामाग्रीहरु कब्जामा लिनुका छन् । नेकपाका कार्यकर्ताले मतदान केन्द्र कब्जा गर्दा सुरुमा प्रहरी र कर्मचारी समेतलार्इ नियन्त्रणमा लिएको बताइएको छ । पछि कर्मचारी र प्रहरीलार्इ छाडेर अरु सामाग्री मात्र कब्जामा लिएका हुन् ।
मतदान केन्द्र कब्जामा परेपछि त्यहाँबाट कर्मचारी र प्रहरी भागेको थाहा भएको छ । नेकपाका मुगु जिल्लाका एक कार्यकर्ताले अाफ्ना कार्यकर्ताले सुरुमा प्रहरीका हतियार पनि कब्जामा लिएकाे तर पार्टीको नीति अनुसार कब्जा गरेका हतियार भने त्यतिकै छाडेको बताए ।
नेकपाले सरकाले गर्न लागेको स्थानीय निर्वाचनको खारेज गर्ने घोषणा गरेको छ । संसदीय व्यवस्थाले जनतामा शान्ति, समृद्धि र राजनीतिक निकास दिने नभइ भ्रष्टाचार, अराजकता र मनपरीतन्त्रलार्इ मात्र संस्थागत गर्नेभएका कारण यसको खारेजी गर्नुपर्ने सो पार्टीको भनाइ छ । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाले नेपालमा संसदीय व्यवस्थाका ठाउँमा वैज्ञानिक समाजवादमा आधारित सत्ता स्थापना गर्नुपर्ने जोड दिँदै आएको छ । – ननस्टप खबरबाट


