कहाँ-कहाँ स्थगित भयो मतदान ?
काठमाडौं, पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै क्षेत्रमा उत्साहजनक तरिकाले मतदान भएपनि केहि क्षेत्रमा विवादका कारण निर्वाचन स्थगित भएको छ । रामेछाप, दोलखा, काभ्रे लगायतका जिल्लाका केहि क्षेत्रमा विवादका कारण निर्वाचन स्थगीत भएको हो ।
रामेछापको दोरम्बा गाउँपालिका ५ टोकरपुरको पुन्चेत स्थित कालिका भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदाताको विषयमा विवादका उत्पन्न भएपछि मतदान स्थगित भएको हो ।
यस केन्द्रमा एमाले र माओवादी पक्षबीच मनमुटाव हुँदा झडपको स्थिति श्रृजना भएको थियो । झडपको स्थिति श्रृजना भए पनि अराजक गतिविधिमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
यस्तै काभ्रेको नमोवुद्ध वडा नम्बर ४ को मेथिनकोटमा निर्वाचन स्थगित भएको छ ।सशस्त्र प्रहरीले चलाएको गोली लागि स्थानिय युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको यस क्षेत्रमा अनिश्चितकालका लागी निर्वाचन स्थगित भएको हो ।
मृतकका परिवारले राखेका माग सम्बोधनका लागि गृहमन्त्रालयमा सम्पर्क गरिएको र ठोस निर्णय नभएसम्म निर्वाचन गर्न सक्ने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए । पिडितले मृतकलाइ शहिद घोषणा, दोषीलाइ कारबाही, न्यायिक छानबिन लगायतको माग गरेका छन् ।
शसस्त्र प्रहरीले चलाएको गोली लागेर शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको थियो ।
यस्तै स्थानीय तहको निर्वाचनमा अहिलेसम्म सबैभन्दा बढि तनावपूर्ण अवस्था दोलखामा देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै उम्मेद्वार र बैत्येश्वर गाँउपालिकाका पनि सबै उम्मेद्वारहरु बुथ छोडेर हिडेका छन् ।
उनीहरुले निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा उजुरु दिएका छन् । यस्तै दोलखाको क्षेत्रपा केन्द्रमा काग्रेस र एमालेका कार्यकर्ताबीच झडप समेत भएको छ । झडपका कारण मतदान अवरुद्ध भएको छ । एमालेका कार्यकर्ताको हत्या भएपछि एमाले सत्तारुढ दल माओवादी र कांग्रेसप्रति बढि आक्रामक देखिएको छ ।
यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नमब्र ११ स्थित मतदान स्थलमा एकजना मतदाताले दोहोर्याएर भोट हाल्न खोज्दा तनाव उत्पन्न भएको छ। एमाले कार्यकर्ताहरुले विरोध गरेपछि मतदानस्थलमा झडप भएको थियो। झडपपछि प्रहरीले २ राउन्ड हवाई फायर समेत गर्यो। यस विवादपछि तत्कालका लागि मतदान स्थगित गरिएको छ।
यसैगरि दैलेखमा एमाले र कांग्रेस कार्यकर्ताको झडपका कारण डोक्रा मष्टमाण्डव मतदान केन्द्रमा मतदान कार्य स्थगित गरी दलहरुको छलफलमा जुटेका छन् । एमाले गाँउ पालिकाका अध्यक्ष प्रेमबहादुर बढा सहितको टोलिले हिजो साँझ मोटरसाइकर्ल याली गरेको भन्दै काग्रेस र एमालेका नेता विच झडप सुरु भएको थियो सोही कुरालई जोडेर आजसम्म तनाव ग्रस्त भएको हो ।


