मेलम्ची नगरपालिका– १ मा एमाले विजयी : भरतपुर महानगरपालिकामा मतगणना सुरु
मेलम्ची, १ जेठ । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।
यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र्र)का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ ।
यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकामा मतगणना सुरु
चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा अहिले ४ः३० बजेदेखि मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाका क्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको सङ्ख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदान स्थलमा गरिएको मुचुल्काको सङ्ख्या अनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो । निर्वाचन आयोगको प्रचलित ऐन कानुन र विधिविधान अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट सुरु गरिएको छ ।
भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ । यस अनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ । महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्त रुपमा प्रमुख पदमा रेणू दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ । भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो ।
भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसङ्ख्या रहेको छ । रासस


