४ महानगरपालिकामा कहाँ–कसको अग्रता ?
काठमाडौं, जेठ ६ । मुलुकका चार महानगरपालिकामध्ये तीनओटामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार प्रस्ट अगाडि देखिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १८ हजार १ सय ५५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार २ सय ३३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६ हजार ३ सय ३४ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ४ हजार २ सय ८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १६ हजार ३ सय ८३ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ५ सय ४० मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १५ हजार १ सय ५५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १४ हजार ८ सय ९ मत प्राप्त गरेकी छन् ।
यसैगरी, पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।
एमाले उम्मेदवार मानबहादुर जिसीले १९ हजार ९ सय ५१ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १८ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।


