चोक नै कुरुप हुने गरी पार्टीको चुनाव प्रचारप्रसार सामग्री राखी निर्वाचन आचारसंहिता उल्लंघन गर्दै झापाका दलहरु !
झापा, दोस्रो चरणको निर्वाचन नजिकिएसँगै झापाका राजनीतिक दलहरु यतिबेला प्रचारप्रसारमा व्यस्त छन्।
उनीहरुले यतिबेला प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता नै उल्लंघन गरिरहेको पाइएको छ। राजनीतिक दलहरुले दमकको मुख्य चोकलाई नै कुरुप हुने गरी पार्टीको चुनाव प्रचारप्रसार सामग्री राखेका छन्। जुन प्रचारप्रसार सामग्री राख्नु निर्वाचन आचारसंहिताविपरीत हो। निर्वाचन आचारसंहिता २०७२ दफा ४ को (झ) मा उल्लेख भएअनुसार निर्वाचन प्रचारका लागि दलहरुले सार्वजनिक, धार्मिक, ऐतिहासिक, संस्कृति पुरातात्विक स्थल, सार्वजनिक सडक खम्बा आदिमा चुनाव प्रचारप्रसार सामग्री राख्न नपाइने उल्लेख छ। तर दलहरुले आचारसंहिताको ठाडो उल्लंघन गर्दै चुनाव प्रचारप्रसार सामग्री सहित दमकको चोकमा पार्टीको झन्डा राखेका छन्।

उनीहरुले दमक चोकमा मात्र होइन यस क्षेत्रमा सञ्चालन हुने विद्युतीय रिक्सा, ट्याक्टरलगायत सार्वजनिक सवारीका साधनहरुमा समेत प्रचार सामग्रीहरु राख्दै आएका छन्। सार्वजनिकस्थललाई दलहरुले प्रचार गर्ने स्थान बनाएर आचारसंहिता उल्लघंन गरेको विषयमा जिल्ला निर्वाचन कार्यालय झापाले भने निरीक्षण गर्ने प्रतिबद्धता जनाएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले सार्वजनिक स्थललाई चुनाव प्रचार प्रसारको स्थल बनाउन नपाइने बताए। उनले भने, ‘सार्वजनिकस्थललाई चुनाव प्रचार गर्ने स्थल बनाउन पाइँदैन दमकमा यस्तो भयो भन्ने सुनेको छु, हामी अनुगमन गर्छौं, पहिलो चरणमा उहाँहरुलाई हटाउन लगाउँछौँ, भएन भने हामी आफंै हटाइदिन्छौं।’ सार्वजनिकस्थलमा उम्मेदवार दर्ता हुनुभन्दा अघि पोस्टर टाँसेमा सम्बन्धित दलहरुलाई आचारसंहिता लाग्ने आचार्यले बताए। उनले भने, ‘आचारसंहिता त फागुनदेखि नै लागि सकेको छ, अहिलेको अवस्थामा उम्मेदवार नटुंगिएकाले दललाई आचासंहिता लाग्छ, प्रचार सामग्री राख्दा निजीस्थलमा चाहिँ सम्बन्धित व्यक्तिको अनुमतिमा पाइन्छ।’ यता दलहरुले भने यस विषयमा गैरजीम्मेवार कुरा गरेका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट दमक नगरपालिका प्रमुखको उम्मेद्वार बनेका रेवतराज पुरी गगनले अरु दलले जस्तै आफूले पनि प्रचार सामग्री राखेको बताए। उनले भने, ‘एमालेका अध्यक्ष, कांग्रेसका सभापति, राप्रपाका अध्यक्ष आउँदा चाहीँ दमकका सार्वजनिकस्थल सबैतिर झन्डा हुँदा कसैले ख्याल नगर्ने अनी हामीले राख्दा चाहिँ निर्वाचन आचारसंहिताको कुरा गर्ने?’ माओवादी केन्द्र झापा क्षेत्र नम्बर ७ का इञ्चार्जसमेत रहेका पुरीले थपे, ‘हामीले पनि अरु दलले गरे जस्तै गरेका हौँ, अरुले राख्दा चाहिँ निर्वाचन आयोग कहाँ हराएको थियो?’
यता नेकपा एमालेले भने दमकमा एमाले पनि छ भन्ने देखाउनलाई सडक पेटीको छेउछेउमा सामान्य रुपमा झन्डा राखेको बताएको छ। एमाले दमक नगर उपसचिव लीला ढुंगेल दहालले आफूहरुले राखेको प्रचारप्रसारले सो ठाउँको पहिचान नमेटिएको दाबी गरिन्। उनले भनिन्, ‘हामीले दमकमा सूर्य छ है भन्ने देखाउन कहीँ–कहीँ राखेका छौं तर माओवादीले जस्तो हरित नगरलाई कुरुप बनाउने गरी प्रचार सामग्री राखेका छैनौं।’ उनले आफूहरुलाई अहिले नै निर्वाचन आचासंहिताले नछुने समेत ठोकुवा गरिन् । उनले भनिन्, ‘अहिले नै निर्वाचन आचासंहिताले नछुने भएकाले झन्डा राखेका हौं।’ चुनावी प्रचारप्रसार तीव्र पारेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अरु दलहरुले तीव्र प्रचारप्रसार गरेको देखेर झन्डाहरु राखेको बताएको छ। राप्रपाका माआधिवेशन प्रतिनिधि तथा दमक १२ का वडा अध्यक्षका उम्मेद्वार भीम पौडेलले सरकारमा बसेका दलहरुले नै आचासंहिताको उल्लघंन गरेका कारण आफूहरु पनि बाध्य भएर सार्वजनिकस्थलमा झण्डा राख्नुपरेको बताए। उनले भने, ‘सरकारमा रहेका दलका उम्मेदवार नै यतिबेला विकास निर्माणका काम गर्ने, सार्वजनिकस्थलमा पोस्टर टाँस्ने काम गर्दै छन् त्यसैले हामीले पनि गरेका हौं, हामीले दमकको पहिचान आकाशे पुललाई कुरुप नबनाऔं भनेका थियौं, हामीले पनि पार्टी अध्यक्ष आउँदा आकाशे पुलमा राखेका थियौं तर, आफैं निकाल्यौं।’


