यसरी कब्जा गर्यो एमालेले काठमाण्डौ उपत्यका, कांग्रेस र माओवादी सँधैका लागि बढारिने संकेत !

काठमाण्डौ । बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट काठमाण्डौमा शीर्ष दलहरुको शक्ति सन्तुलन व्यापक रुपमा फेरबदल हुने देखिएको छ । लामो समयदेखि काठमाण्डौ उपत्यकामा आफ्नो प्रभाव जमाउँदै आएको कांग्रेसले महानगरपालिका प्रमुखमा पराजय ब्यहोर्ने निश्चित देखिएको छ । कांग्रेसका मेयरका उम्मेद्वार राजुवावु जोशीले पछिल्लो मतपरिणामअनुसार ३५ हजार ६७९ मत प्राप्त गरेका छन् भने उनलाई एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले भारी मत पछि पार्दै ५० हजार ६०१ मत प्राप्त गरिसकेका छन् ।

ललितपुरमा भने कांग्रेसकै उम्मेद्वारले जित हासिल गरेका छन् तर निकै झिने मतले मात्र उनको जित हासिल भएको देखिन्छ । त्यहाँ कांग्रेसका चिरिबाबु महर्जनले ३ सय २६ मतको अन्तरले मात्र चुनाव जिते । ललितपुरमा भने ६ वटा स्थानीय निकायमा ३ वटामा कांग्रेसले जित हासिल गरेको छ ।

उपत्यकाका जिल्लाहरुमध्ये ललितपुरमा भने कांग्रेस केही मजवुत देखिएको छ । उता, भक्तपुरमा पनि कांग्रेस कमजोर देखिएको छ । यद्यपि,जितमा समेत कांग्रेसका कमजोरीहरु प्रस्ट रुपमा देखिएका छन् । यसबाट के प्रस्ट हुन्छ भने यो पटकको काठमाण्डौ महानगर लगायत उपत्यकाका अन्य स्थानको नेतृत्व एमालेको काँधमा पुगेको छ । त्यतिमात्र होइन काठमाण्डौ उपत्यकाका अन्य स्थानमा समेत कांग्रेसलाई पछि पार्दै एमाले अग्रस्थानमा रहन पुगेको देखिन्छ । यद्यपि, काठमाण्डौ महानगरका वडाहरुमा कांग्रेसले एमालेका पिछा गरिरहेको देखिन्छ । काठमाण्डौ महानगरका २४ वडाको मत परिणाम आइसकेको छ । त्यसमा एमालेले १३ वटा र कांग्रेसले ११ वटामा विजयी हासिल गरेको छ ।

कांग्रेसले काठमाण्डौमा नराम्रोसँग धक्का खाएको छ । कांग्रेसले काठमाण्डौमा किन धक्का खायो ? मुलुककै सबैभन्दा ठूलो पार्टी, जसको प्रभाव सदाबहार रुपमा नेपाली राजनीतिमा देखिदै आएको छ, तर यो पटक भने उसले किन आफ्नो पक्षमा विजय हात पार्न सकेन ? नेपाली राजनीतिक रंगमञ्चमा पछिल्ला दिन यो विषयमा तीव्र रुपमा बहस उठान हुन थालेको छ । यद्यपि, अहिलेनै मुलुकभरको मतपरिणामको बारेमा समीक्षा गर्ने बेला भने भएको छैन, किनभने जेठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनले मात्र कुन पार्टीको हैसियत कति भन्ने कुराको निर्धारण गर्नेछ । तर काठमाण्डौ उपत्यकाको प्रभाव भने देशभरि पर्ने निश्चित छ ।

काठमाण्डौ उपत्यकामा किन पछि पर्यो कांग्रेस ?
काठमाण्डौ आफैमा मुलुकको प्रभावशाली शहर हो । यहाँका मतदाता निकै सचेत छन् । कुन राजनीतिक दलले कस्तो खालको नारा दिन्छ र त्यसले व्यवहारिक जीवनमा कति प्रभाव पार्दछ भन्ने कुरामा यहाँ मतदाता निकै सचेत हुने गर्दछन् ।
त्यसैले बेला–बेलामा हुने निर्वाचनमा यहाँका मतदाताले निकै सचेततापूर्वक मतदान गर्ने गरेको इतिहास देखिन्छ । यद्यपि, कहिलेकाही यहाँका मतदाता राजनीतिक उथलपुथलको पछि समेत लाग्ने गरेका छन् । तर यो पटक भने उनीहरुले कसैले नसोचेको ढंगले मतदान गरेको देखिएको छ । कांग्रेसका प्रभाव भएका स्थानमा समेत सो पार्टीको मत निकै कम खसेको देखिएको छ । काठमाण्डौका ११ वटा नगरपालिकामा अधिकांश नगरहरु एमालेको पक्कडमा गएका छन् ।

यसमा कांग्रेसको कहाँनेर कमजोरी देखियो रु यो विषयमा चर्को बहस उठान हुन थालेको छ । काठमाण्डौका प्रभावशाली नेता तथा सांसद भीमसेनदास प्रधान पार्टीले कमजोरी गरेकैले यो अवस्था आएको बताउँछन् । उनले यसमा पार्टीले उठाएका मेयरका उम्मेद्वारहरु चयन गर्ने क्रममा नै कमजोरी गरेको ठोकुवा गरे ।

काठमाण्डौ महानगरमा प्रकाशमानकै कारण पार्टीले पराजय ब्यहोरेको उनले खुलासा गरे । उनले स्थानीय नेवार समुदायलाई उपेक्षा गरेका कारण कांग्रेसले पराजय भोग्नुपरेको स्पष्ट पारे । काठमाण्डौ कांग्रेसका पूर्व पार्टी सभापति एवम् क्षेत्र नं.६ का सांसद समेत रहेका प्रधानले भने, ‘काठमाण्डौमा स्थानीय नेवार समुदायको उम्मेद्वार नउठाएका कारणले पार्टीले पराजय भोगेको हो ।’ पार्टी सभापति देउवा लगायतका नेताहरुले स्थानीय नेवार समुदायको राम्रो उम्मेद्वार उठाउने तयारी गर्दागर्दै प्रकाशमानकै हठका कारण जोशीलाई उम्मेद्वारी दिइएको बताउँदै प्रधानले उनका कारण पार्टीले यो स्थिति ब्यहोर्नुपरेको बताए ।

एमाले उपत्यकामा ०५४ सालको भन्दा पनि राम्रो देखियो !
उता, एमाले नेतृत्वले भने आफ्नो पार्टीको मजवुत संगठन र आन्तारिक तयारीसँगै पछिल्ला वर्ष पार्टीले लिएको राष्ट्रवादी अडानले आफ्नो पार्टी जनताको बीचमा थप मजवुत हुँदै गएको बताइरहेको छ । मुलुकलाई संकट पर्दा एमाले नेतृत्वले लिएको जनपक्षीय अडानले आफ्नो पार्टीलाई उपत्यकामा २०५४ सालको भन्दा राम्रो मतपरिणाम प्राप्त भएको एमाले नेतृत्वको बुझाई छ ।

त्यतिमात्र होइन मुलुकमा एमालेले पछिल्ला वर्ष विपरित कम्युनिष्ट धारको प्रभावलाई समेत ह्वात्तै आफ्नो पक्षमा पार्न सफल भयो । लामो समय शसस्त्र र शान्तिपूर्ण संघर्षको बाटो अख्तियार गर्दै आएको तत्कालीन माओवादी (हाल माओवादी केन्द्र) र उसबाट टुक्रिएका समुहबाट निराश भएका निकै ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरे । उनै नेता कार्यकर्ताको आधारमा माओवादीले त्यसबेला ठूलो शक्ति आर्जन गरेको थियो ।

माओवादी धारभित्र देखिएको सोही संकटलाई पनि एमालेले राम्रोसँग उपयोग गर्यो । त्यसकारण पनि एमाले मुलुककै शक्तिशाली पार्टी बन्ने बाटोमा अघि बढ्यो । जानकारहरुका अनुसार यही यात्रालाई सदाबहार रुप दिन सके र सन्तुलित ढंगले पार्टीको आन्तरिक संगठनको व्यवस्थापन र विकास गर्न सके एमाले काठमाण्डौ उपत्यकामा आधा शताब्दीभन्दा बढी समय आफ्नो प्रभाव जमाउन सक्ने बाटोमा अघि बढेको छ । किनभने अबको मुलुकको संस्थापकीय कम्युनिष्ट धारको नेतृत्व एमालेले मात्र गर्न सक्न निचोडमा जनमत मजवुत हुँदै गएको संकेत निर्वाचनमार्फतनै देखिइसकेको वामपन्थी विश्लेषकहरु बताउन थालेका छन् ।

त्यस्तै, कांग्रेसले भने आफ्नो पार्टीभित्रको आन्तारिक र बाह्य कारणले काठमाण्डौमा पराजय भोग्नुपरेको महसुस गर्न थालेको देखिन्छ । कांग्रेसले बाह्रय कारणले समेत धक्का बेहोर्नुपरेको बहसहरु बाहिर आइरहेका छन् । पछिल्लो समयमा कांग्रेसले माओवादी केन्द्रसँग गरेको चुनावी तालमेल, प्रहरीको अइजीपी नियुक्ति प्रकरण, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, मधेसी मोर्चासँगको निकटता,राष्ट्रियताको मुद्धामा मौन रहनु, चुनावको लागि आन्तरिक रणनीति तयार गर्न नसक्नु लगायतका कारणले पराजय ब्यहोरेको देखिन्छ ।

यो सवालमा कांग्रेसले आफ्नो अडानलाई मजबुत बनाउन सकेको भए पछिल्लो परिणति भोग्नु पर्ने स्थिति नआउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।