मेयरको दौडबाट पछि हटे लालबाबु ! विराटनगरमा मेयर उठाउने चर्चा चर्चामै सिमित
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई विराटनगरमा मेयर उठाउने चर्चा चर्चामै सिमित हुने देखिएको छ ।
विराटनगर उपमहानगरपालिका महानगरपालिकामा स्तरोन्नती भएपछि पनि उनले मेयर उठ्ने मन नगरेको कारणले सो चर्चा चर्चामै सिमित हुने भएको हो ।

यस अघि निर्वाचनको विषय उठ्दै गर्दा विराटनगरमा लालबाबु पण्डित नै मेयरमा उठ्ने चर्चा चलेको थियो । उनले पनि पार्टीले आवश्यक ठानेको खण्डमा आफूले भो नभन्ने प्रतिक्रिया दिएका थिए ।
तर अन्तिममा आएर पण्डित आफैं उक्त रेसबाट बाहिरिएका छन् । विराटनगरमा दोस्रो चरणमा स्थानीय निर्वाचन हुँदैछ ।
‘म आफैंले मन गरिन, त्यसैले अहिले केही पनि बोलेको छैन,’ पण्डितले लोकान्तरलाई प्रतिक्रिया दिँदै भने, ‘अन्तत मैले केन्द्रकै राजनीतिमा केन्द्रीत हुने निर्णय गरें ।’ उम्मेदवार मनोनयनका लागि नाम सिफारिस हुँदै गर्दा आफ्नो नाम नराख्नको लागि अनुरोध गरेको उनले बताए ।
‘अरु तीन जनाको नाम सिफारिस भएर गएको छ,’ उनले भने, ‘जसले टिकट पाउँछ उसलाई जिताएर काठमाडौं फर्किन्छु ।’ हाल चुनावी अभियानकै क्रममा विराटनगरमा रहेका उनले जित्ने उम्मेदवारलाई टिकट दिलाउनको लागि आफूले लबिङ गर्ने समेत बताए ।
विराटनगरको मेयरमा आफ्नो आवश्यकता नरहेकोले पनि अहिले आफू चुनावमा नउठ्ने बताए । ‘अन्य साथीहरुले उठेर पनि जित्नुहुन्छ,’ उनले भने, ‘र म जिताएरै काठमाडौं फर्किन्छु ।’
अहिले पण्डित विराटनगरतिरकै चुनावी कार्यक्रमहरुमा सहभागि भइरहेका छन् ।


