के हुन्छ जब मतगणना पूरा हुनु अघि नै मतपत्र नोक्सान हुन्छ ?

मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित

चितवन, १५ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मतगणना भइरहेको समयमा राति ११:४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो ।

सो क्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराउनुभएको थियो । के कति मतपत्र च्यातियो सोबारे भने उहाँले यकिन हुन नसकेको बताउनुभयो ।

च्यातिएका मतपत्रलाई मुचुल्का गरेर राखिएको छ । नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवी ज्ञवालीले हार्ने भएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताउनुभयो । माओवादी केन्द्रले भने एमालेलाई दोष लगाएको छ । मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् ।

मतगणना स्थलमा उनीहरुले गनिसकेको मतपत्र सङ्ख्या जोड्दै गर्दा च्यातेपछि मतगणना स्थलमा निकै होहल्ला भएको थियो । प्रहरी उपरीक्षक थापाका अनुसार मतगणना स्थगित भएपछि मतपत्र गणना भइरहेको स्थल कवर्ड हलबाट दलका प्रतिनिधिलाई बाहिर निकालेर दुईवटा ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ । सोही माथि एमालेले पनि ताला लगाएको उहाँले बताउनुभयो । अन्य दलले पनि ताला लाउन सक्ने थापाले बताउनुभयो ।

मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो । सो क्रममा भरतपुर महानगरपालिका–१९ को मतगणना भइरहेको थियो । वडा नम्बर २० को मतगणना हुन बाँकी रहेको छ । हालसम्म माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहालभन्दा नेकपा एमालेका प्रमुख पदका ज्ञवाली ७५५ मत अन्तरले अघि रहनुभएको छ ।
===
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मतगणना नसक्दासम्म मतपत्र च्यातिएमा यस्तो स्थानमा पुनः मतदान गराउनुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले मतपत्र च्यातिएको पुष्टी गरिसकेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ मा यस्तो व्यवस्था छ । मतगणना हुनुपूर्व मतपत्र नोक्सान भएमा,वा नष्ट भएमा,खोसिएमा मतगणना स्थगित गर्नुपर्ने हुन्छ । अहिले भरतपुरमा मतगणना स्थगित भइसकेको छ । मतदान अधिकृतले कानून अनुसार यसको जानकारी निर्वाचन आयोगलाई गराइसकेका छन् । भरतपुरको अहिले वडा नम्बर १९ को मतगणना जारी रहदा मतपत्र च्यातिएको हो । जुन बुथको मतपत्र च्यातिएको छ । त्यहाँ चुनाव गर्नुपर्ने कानूनले भनेको छ । तर, यसको निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।