‘दिल्लीको आदेश’मा राजपा बनेको उपेन्द्र यादवको आरोप
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले बाहिरी शक्तिको आदेशमा ६ पार्टी एक भएर राजपा निर्माण भएको बताएका छन् ।
‘बाहिरी शक्ति आए, नाम छोडो भन्यो नाम छोडे, चुनाव चिन्ह छोडो भन्यो चुनाव चिन्ह छोडे अनि झण्डा छोडो भन्यो झण्डा छोडयो,’ स्थानिय तहको दोश्रो चरणको निर्वाचनका लागि मधेस प्रदेशको फोरमको प्रतिबद्धता पत्र सार्वजनिक गर्न बुधवार राजविराजमा आयोजित कार्यक्रममा यादबले भने, ‘बाहिरी शक्तिका आगाडि यति लाचार भए कि राजपा नामक अर्को पार्टी रहेछ भन्ने कुरा पनि ध्यान दिएनन्, अशोक राईको पार्टीले विगतमा राखेको छाता छाप माथि दाबी गर्न थाले ।’

यादवले आफ्नो कमजोरी लुकाउन अर्कामागि प्रहार गरि कोही ठुलो हुन नसक्ने बताउँदै राजपाका नेताहरुलाई लक्षित गरि यादवले भने, ‘चुनाव चिन्हका लागि बढी क्रान्तिकारी भएको नदेखाए पनि हुन्छ ।’ राजपा नेपाल क्षणिक क्रान्तिकारी पार्टी मात्र भएको यादबले आरोप लगाए । ‘अंगुर टिप्न नसकेपछि अंगुर नै अमिलो’ भन्ने मानसिकतावाट राजपा गुज्रिरहेको आरोप लगाउँदै फोरम अध्यक्ष यादवले भने, ‘मात्र होइन् मुलुकलाई सम्हाल्नु पनि राजनितिक दायित्व भित्र कै कुरा हो ।’
लोकतन्त्रको जग नै स्थानिय तह भएको प्रष्टयाउँदै यादवले स्थानिय तहमा जनताको प्रत्यक्ष सहभागिताका लागि निर्वाचन अपरिहार्य रहेको बताए । स्थानिय सतामा शक्ति वनाउन सके त्यो मधेसीका लागि ठूलो सफलता हुने बताउँदै यादवले मधेशको मुद्धालाई मधेसी जनतासित जनअनुमोदित बनाउन पनि स्थानिय तहको निर्वाचन आवश्यक रहेको बताए । ‘कोठामा बसेर गफाडीजस्तो क्रान्तिकारी गफ हाकेर मधेसको अधिकार सुनिश्चत हुँदैन्’ राजपा नेताविरुद्ध खनिएका यादवले भने, ‘अधिकारको लडाईका लागि गफाडीको गफले मात्र होइन् शक्ति संचय पनि गर्नुपर्छ, स्थानिय तहको निर्वाचनलाई शक्ति संचयको स्रोतको रुपमा लिएर अघि बढ्नुपर्छ ।’
चुनाववाट भाग्नेहरु राजनैतिक शक्ति हुन नसक्ने बताउँदै यादवले भने, ‘चुनावको सामना गर्नुपर्दछ भागेर हुदैन् ।’ पटक पटक भएको मधेस आन्दोलनवाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न र बचाउ गर्न पनि निर्वाचन आबश्यक रहेको तर्क गर्दे यादवले अन्तर्राष्ट्रियकरण भइसकेकाले मधेस एजेन्डा अधिकार प्राप्त नगरेसम्म जारी रहने दोहोर्याए ।


