चितवनको भरतपुरमा मतपत्र च्यात्ने माओवादीका २ कार्यकर्ता अदालतबाट यसरी भए रिहा
काठमाडौँ १८ जेठ, चितवनको भरपुरमहानगरेको मतगणनामा हुलदङ्गा गरी मतपत्र च्यात्ने माओवादी केन्द्रका २ जना कार्यकर्तालाई अदालतले धरौटीमा रिहा गरेको छ । गत आइतबार मध्यरातमा मतपत्र च्यातेको आरोपमा प्रहरीले पक्राउ गरेको माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई अदालतले बिहिबार धरौटीमा रिहा गरेको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले निर्वाचन कसुर ऐन –२०७३ को दफा १६ उप दफा २ बमोजिम १/१ लाख धरौटी लिएर निज आरोपीलाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार धनिप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बखत मतगणनास्थलमा प्रवेश गरी माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको छ । उक्त घटनापछि एमाले र माओवादीबीच मतगणना सुचारु गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा अहिले पनि चर्को विवाद हुँदै आएको छ । नेकपा एमालेले मतगणना कार्यलाई निरनतरता दिन माग गर्दै सदन र सडकबाट दबाब मूलक शान्तिपूर्ण आन्दोलन समेत गर्दै आएको छ। उसले सदन समेत लगातार अबरुद्ध गरेको छ ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतपत्र च्यात्ने जो सुकै भएपनि कारबाही गर्ने बताउनुभएको थियो । तर प्रचण्डले यो अभिब्यक्ति दिएको २४ घण्टा नबित्दै पक्राउ परेका माओवादी कार्यकर्ता रिहा भएका छन् ।
यता निर्वाचन आयोगले उक्त घटनाको छानबिन गर्न समिति बनाएको भएपनि उक्त समितिको प्रतिबेदनमा च्यातिएका मतपत्रको एकिन तथ्याङ्क उल्लेख नभएपछि आज राजनीतिक दल तथा आयोगका प्रतिनीधिहरुको रहोबरमा च्यातिएका मतपत्रको गणना हुँदैछ । – बिगुलन्यूजबाट ।


