भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो

चितवन, १८ जेठ । भरतपुर महानगरपालिकाको ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको छ ।

निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दलका प्रमुख, उम्मेदवार, उनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको रोहवरमा सिल गरी राखिएको च्यातिएको मतपत्र गन्दा ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको हो ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भरतपुर महानगरपालिका वडा नं १९ मा कुल दुई हजार ८९७ मत खसेकामा एक हजार ८०९ मतगणना भइसकेको, ९९८ मत गन्न मिल्ने अवस्थामा रहेको र बाँकी ९० मत पूर्णरुपमा नोक्सान भएको बताउनुभयो ।

उहाँले यसको प्रतिवेदन आजै निर्वाचन आयोगमा पठाउने पनि जानकारी दिनुभयो ।

च्यातिएको मतपत्र गणनापछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीले धेरै मतपत्र च्यातिएकाले पुनःमतदान हुनुपर्ने जनाएको भए पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्ने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले च्यातिएका मतपत्र निर्णायक नभएकाले तिनलाई बदर गरी मतगणना सञ्चालन गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले धेरै सङ्ख्यामा मतपत्र च्यातिएकाले पुनःमतदानको विकल्प नरहेको बताउनुभयो ।

मतगणना जारी रहेका बेला गत आइतबार मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार उम्मेदवार, तीनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुटै पासको व्यवस्था गरी प्रवेश गराएर मतपत्रको अवस्थाका बारेमा अध्ययन गरिएको बताउनुभयो ।

मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजे ताला खोलेर च्यातिएको मतपत्रको अवस्था बुझ्नुका साथै तथ्याङ्क लिन सुरु गरिएको थियो ।

यसअघि निर्वाचन आयोगबाट सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले मत च्यातिँदा रहेका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग घटनाका बारेमा जानकारी लिएको थियो ।

सोको प्रतिवेदन टोलीले आयोगमा बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रका बारेमा तथ्याङ्क लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देश गरेको थियो । नेकपा एमालेले मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई जना प्रतिनिधिलाई आज जिल्ला अदालत चितवनले जनही रु एक लाख धरौटीमा रिहा गरेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ । १९ नं को एक हजार ८०० मतगणना हुँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९०८ रहेको छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहनुभएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।