अछाममा एक किशोरीले दिईन बुवालाई दागबत्ति
अछाम, जेठ २० । अछामको रामारोशन गाउँपालिकामा एक किशोरीले आफ्नो बुवालाई दागबत्ति दिएकी छन् ।
पुरुषले मात्रै दागबत्ति दिनुपर्छ र महिलाहरुले मलामी जान समेत नहुने सामाजिक मान्यतालाई बेवास्था गर्दै रामारोशन–६ भटाकाटियाकी १४ वर्षिया दुर्पता बिकले आफ्ना बुवालाई दागबत्ति दिएकी हुन् ।

समाजका गन्य–मान्य र आफन्तले समेत छोराहरु उपस्थित नभएको अवस्थामा अर्को ब्याक्तिलाई दागबत्ति दिन तयार गरेको अवस्थामा आफ्ना दाईहरुको सल्लाहमा बुवा कालुसिंह लुहारको दाहसंस्कारमा दुर्पताले दागबत्ती दिएकी स्थानीय पठानसिंह विकले जानकारी दिएका छन् ।
स्थानीय पुर्णचन्द्र माविमा कक्षा ७ मा अध्ययनरत दुर्पताका दुई जना दाईहरु रोजगारीको शिलशिलामा भारतमा रहेको र दाहसंस्कारमा आई नपुग्ने भएपछि बहिनीलाई दागबत्ति दिन लगाएको बताईएको छ ।
छोरीले दागबत्ती दिँदा राम्रो नहुने स्थानीयले बताएपनि कैलाशखोला नदीमै पुगेर दुर्पताले दागबत्ति दिएकी हुन । दुर्पताका बुवा कालुसिंह लुहारको ६२ वर्षको उमेरमा उपचारका क्रममा शुक्रबार बयलपाटा अस्पतालमा निधन भएको थियो । अछाममा छोरीले दागबत्ती दिएको यो पहिलो घट्ना हो ।


