कोरियाका लागि ७५ हजार नेपालीले परिक्षा दिने

काठमाडौं, रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७५ हजार युवाको प्रारम्भिक छनोटका लागि लिइने भाषा परीक्षाको तयारी पूरा भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जेठ २७ र २८ गते सञ्चालन हुने आठौं ईपीएस टपिक (भाषा परीक्षा) का लागि काठमाडौं उपत्यकाका २६ स्थानमा परीक्षा केन्द्र कायम गरिएको छ ।

यीमध्ये काठमाडौंमा १९ र ललितपुरमा ७ वटा क्याम्पस तथा स्कुलमा भाषा परीक्षा केन्द्र कायम गरिएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारी जानकारी दिए ।

यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि कोरिया जान अनिवार्य गरिएको भाषा परीक्षामा सहभागिता जनाउँदै छन् । शनिबार र आइतबार दुई सिफ्टमा परीक्षा सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) का प्रतिनिधिको रोहवरमा भाषा परीक्षा सञ्चालन हुनेछ ।

परीक्षामा सहभागी भएर उत्कृष्ट अंक ल्याउने १० हजार २ सय नेपालीलाई कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले रोजगारीका लागि छनोट गर्ने छ । यो परीक्षाबाट ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रका लागि नेपाली कामदार लैजाने कोरियाले जनाएको छ ।

परीक्षामा छनोट भएका कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो छनोट संख्या गत वर्षको तुलनामा तेब्बर बढी हो । गत वर्षको भाषा परीक्षामा सहभागी ६० हजारमध्ये ३ हजार ५ जना छनोटमा परेका थिए । सरकारले आठौं भाषा परीक्षाको आवेदनका लागि अनलाइन प्रणाली विकास गरेका कारण यो वर्ष परीक्षार्थीको संख्या १५ हजारले बढेको छ ।

शाखाले परीक्षार्थीलाई परीक्षा केन्द्र, परीक्षा मिति र समयका बारेमा स्पष्ट हुन आह्वान गरेको छ । शाखाले अघिल्लो वर्ष जस्तै यो वर्ष पनि शंकास्पद नक्कली परीक्षार्थी रोक्न एमआरपी र रंगिन प्रवेशपत्र अनिवार्य गरेको छ ।

“परीक्षामा शंकास्पद नक्कली परीक्षार्थी पहिचानका लागि कोरिया र नेपाल पक्ष मिलेर नियन्त्रण गरिनेछ,” शाखाका अधिकृत भण्डारीले भने, “नक्कली परीक्षार्थी भएको शंका लागेमा व्यक्तिगत सोधपुछ गरिने र गल्ती देखिएका प्रहरीको जिम्मा लगाई कानुनी कारबाही गरिनेछ ।” परीक्षामा अनुचित काम गर्नेलाई परीक्षाबाट निष्कासित गरी दुई वर्षसम्म भाषा परीक्षाबाट वञ्चित गरिने भएको छ । – कारोवारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।