भारतीयराजदूतबाट लाइन पाएपछि के गर्दैछ राजपा ?, सप्तरी एमालेका लागि ‘डेन्जर जोन’ !
काठमाण्डौ, २३ जेठ । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यतिबेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन् ।
मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकटकै स्रोतको दाबी छ ।
‘मधेस आन्दोलनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेदवार बनाउन उहाँ सक्रिय देखिनुभएको छ स्रोतले भन्यो, ‘पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीय स्तरका वरिष्ठ यी नेताको रबैयाले स्थानीय कार्यकर्ता नै अन्योलमा परेका छन् ।’
६ मधेसवादी दल एकीकरण भएर निर्माण भएको राजपा अझै पनि औपचारिक रुपमा चुनावको विरोधमै छ । शनिबार मात्रै राजपा सप्तरीले विज्ञप्ति जारी गर्दै संविधान संशोधन नभई चुनावमा नजाने तथा संविधान संशोधन प्रक्रियामा बाधक देखिएको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो ।
यसरी सार्वजनिक रुपमा चुनावको विरोध गरिररहे पनि राजपाको केन्द्रीयदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनाव तयारीमा जुटेको स्रोतको दाबी छ । स्रोतका अनुसार भारतीय राजदूतले चुनावमा जान राजपालाई गरेको आग्रह, स्थानीय कार्यकर्ताको दबाबलगायतका कारण पार्टी नेतृत्वले आन्तरिक रुपमै भए पनि चुनाव तयारीलाई निरन्तरता दिएको हो ।
‘फेस सेभिङ’ खोज्दै राजपा
चुनावविरुद्ध चर्को बयानबाजी गर्दै हिँडेका राजपाका केन्द्रीयदेखि जिल्ला तहसम्मका प्रभावशाली नेता पार्टीभित्र भने चुनावको पक्षमा लबिङ गरिरेको घटनाक्रमसमेत सार्वजनिक भइरहेको छ । ‘अफ द रेकर्ड भन्नुपर्दा पार्टी नेतृत्व पनि चुनावमा सहभागी हुनेबारे लगभग सहमत भइसकेको अवस्था छ’, राजपा निकटको विश्वस्त स्रोतले भन्यो, ‘आफ्ना एजेन्डाबारे सार्वजनिक रुपमा फेस सेभिङ गर्ने आधारमात्रै नेताहरुले खोजिरहेका छन् ।’
दल दर्ता, अनुकूल चुनाव चिह्न, स्थानीय तहको संख्या थप, सहिद घोषणा, मुद्दा फिर्तालगायतका माग सम्बोधन भइदिए राजपा नेतालाई चुनावमा सहभागी हुन सहज हुने स्रोतको बुझाइ छ । – नागरिक दैनिकबाट


