केपी ओलीको दुई घण्टा लामो भाषण उपेन्द्र यादवको एउटै कमेन्टले चैट !
काठमाण्डौं, २३ जेठ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीले संसदमा मंगलबार मधेस र मधेसी जनातबारे देखाएको सहानुभूति नक्कली भएको टिप्पणी गरेका छन् ।
उनले ओली र एमालेले जतिसुकै ढाकछोप गर्न खोजे पनि मधेसविरोधी चेहरा उदांगो भएको टिप्पणी गरे । ओलीले सरकारले गणतन्त्र दिवसका दिन सरकारले विभिन्न पदक, विभुषण र मानपदवी वितरण गर्दा मधेसमाथि विभेद गरेको भन्दै मधेसीको ‘सेन्टिमेन्ट’ आफूतिर तान्ने कोसिस गरेका थिए । सरकारले ५ सय १४ वटा अलंकार, मानपवदी र विभुषण वितरण गर्दा मधेसीको भागमा जम्मा ५४ वटा मात्र परेको उल्लेख गरेका थिए ।
‘काँग्रेस र माओवादी केन्द्रले मधेसलाई आधा जनसंख्या भन्ने गरेका छन्’, ओलीले ब्यंग्य गर्दै भने, ‘आधा जनसंख्यालाई ५१४ मा जम्मा ५४ वटा पदक ।’ उनले आफ्ना मित्रहरु (काँग्रेस–माओवादी) का बारेमा तीतो टिप्पणी गरेको भन्दै चित्त नदुखाउन समेत मधेस केन्द्रित दलका सांसदलाई आग्रह गरेका थिए । उसले सप्तरीमा एमालेले नभई सरकार आफैंले गोली चलाएर मान्छे मारेको आरोप लगाए । एमालेको सभा सकिएर आफूहरु फर्कने बेलामा प्रहरीले गोली चलाउँदा सप्तरी हत्याकाण्ड भएको दाबी उनको थियो ।
यस्तै एमाले कहिल्यै मधेसविरोधी नभएको बरु आफ्नो सरकार हुँदा मधेसको विकासमा धेरै बजेट पठाएको, हुलाकी राजमार्गको काम अगाडि बढाएको तथा मधेसमै रहेको पूर्वपश्चिम राजमार्ग चौडा पार्ने कामको सुरुआत गरेको बताए । गजेन्द्रनारायण सिंहदेखि महन्थ ठाकुर, विजय गच्छदार, जेपी गुप्तासहित काँग्रेसका धेरै नेताले मधेससम्बन्धी काँग्रेसको नीति गलत भएका कारण पार्टी छाडेको भन्दै एमाले भने महेन्द्र यादवसहित केही भ्रममा परेका मानिसले छाडेर गएको टिप्पणी गरे ।
ओलीले मधेससँग अहिलेसम्म भएका सबै सहमति र सम्झौता काँग्रेस नेतृत्वको सरकारले गरेकाले सहमति पालना नगरेको आरोप एमालेमाथि नलगाउन भने । ओलीले सहमति काँग्रेसले गरेको र पालना गर्ने जिम्मेवारी पनि सहमतिमा हस्ताक्षर गर्नेको हुने भन्दै विभिन्न सहमतिमा हस्ताक्षर गरेका नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य लगातयको नाम लिए । ती सहमति पालना गर्ने दायित्व एमालेको नभई काँग्रेसकै भएको दाबी उनको थियो ।
प्रधानमन्त्री निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा मत दिएर बाहिरिएका उपेन्द्र यादवले ओलीको लामो भाषणबारे छोटो टिप्पणी गरे । ‘उहाँको नक्कली कुरामा मधेसी जनतालाई विश्वास छैन’, उपेन्द्रले भने, ‘मधेसले कुनै पदक, विभुषण र मानपदवी मागेको होइन, अधिकार मागेको हो । पदक तपाईंहरु नै बाँडेर लिनुहोला ।’ – काठमाण्डुटुडेबाट ।


