‘मधेस समस्याको जड नेपाली काँग्रेस’ भन्दै युवाले दिए यस्तो चेतावनी…
काठमाडौं । युवाहरुको एक भेलाले मधेस समस्याको जड नेपाली काँग्रेस नै रहेको ठोकुवा गरेका छन् । उनीहरुले ३० वर्षदेखिको इतिहास कोट्याउँदै मधेसका नाउँमा काँग्रेसले अस्थिर राजनीति गरेको र मधेसका नेताहरुलाई आफ्नो राजनीतिक स्वार्थका लागि मात्र उपयोग गरेको बताएका छन् । मधेस समस्याको समाधान आफू रहेको भन्दै काँग्रेसले बताइरहँदा बर्दिवास–महोत्तरीका युवाहरुले भने नेपाली काँग्रेस नै मधेस समस्याको जड रहेको बताएका हुन् ।

मधेसी मोर्चालाई चेतावनी— मधेसकै जनताको लास गन्दै पैसा खाने राजनीति नगर
यतिबेला फेरि पनि काँग्रेसका सभापति शेरबहादुर देउवा मधेस समस्यालाई देखाउँदै प्रधानमन्त्री बनेको भन्दै विगतमा पनि मधेसका नेताहरु नेपाली काँग्रेस छोड्दै मधेस आन्दोलनका नाउँमा फरक फरक पार्टी खोल्ने सन्दर्भबारे उनीहरुले विमर्श गरेका छन् ।
उनीहरुले महेन्द्र नारायण निधिदेखि विमलेन्द्र निधीसम्मले मधेशलाई देखाउँदै सत्तामा जाने, तर मधेसमा भने ५५ प्रतिशत समय सत्तामा रहँदा पनि नहर सम्म खोल्ने विकास र बजेट नदिएको उनीहरुको आरोप छ ।
उनीहरुले बहुदलीय प्रजातान्त्रिक कालदेखिको २५ वर्षमा कुन दल कतिपटक सत्तामा गए भन्ने फेहरिस्त नै देखाउँदै सबैभन्दा बढी समय काँग्रेसले ५५ प्रतिशत समय सत्ताको नेतृत्व गर्दा पनि मधेसी जनतामा शिक्षा, चृतना जागरमुखी कार्यक्रम, गरिब जनतामुखी बजेट, बाटोघाटो, नहर र सिँचाइ कार्यक्रमहरु दिदै नदिएको समेत निष्कर्ष निकालेका हुन् ।
‘त्यसका तुलनामा एमालेले ०५२ सालमा नौ महिनाको २० वर्ष पछि सरकारमा जाँदा पनि मधेस र मधेसी जनताका लागि बजेट र कार्यक्रम दिएर ठोस कार्यक्रम गरेको देखिन्छ । एमालेले १५ प्रतिशत समय सरकारमा रहँदा जति कुनै पनि दलले मधेसमा कार्यक्रम नदिएको डाटाले देखाउँछ,’ कार्यक्रम पछि युवाहरुले भने ।
उनीहरुले माओवादी पनि १५ प्रतिशत सत्तामा रहेको, तर उसले मधेसी नेताहरुलाई क्षेत्रीय र विखण्डनकारी नारा दिएर आफ्नै सत्ताको भर्याङ सोझो बनाएको पनि उनीहरुले आरोप लगाएका छन् ।
जसको जति पटक सरकार बने पनि— मधेसवादी नेताहरु भने शतप्रतिशत नै सत्तामा रहेको संविधान जारी पछि केही मधेसवादी भनिने नेताहरु सत्तामा नगए पनि विदेशी डलर लिदै मधेसमा आतंक मच्चाउने काम गरेको युवाहरुको आरोप छ । तर, उनीहरुले भने, ‘पञ्चायती कालदेखिकै दिनहरु गन्ने हो भने, मधेसका नाउँमा पार्टी खोलेकाहरु आजसम्म कहिलै पनि सत्ता विहीन भएर बसेका छैनन्, यसले के देखाउँछ भने, सयमा सय प्रतिशत नै सरकारमा बस्ने, तर मधेसका नाउँमा अस्थिरता पैदा गर्दै सत्ता र भत्ता नछोड्ने दलहरु भनेकै कथित मधेसवादी दलहरु हुन् भन्ने पुष्टि हुन्छ ।’
बर्दिवास नगर कमिटीको पहिलो अधिवेशनमा बोल्ने युवा वक्ताहरुले भने, ‘त्यसैले अब के मधेस, के पहाड, के हिमाल, सिंगो नेपालको कुरा गरौं, मधेस र मधेसी जनताको समृद्धि र सफल जिन्दगीका लागि मधेसकै नाउँमा राजनीति गर्नेहरुको दुकान बन्द गराइदिउँ ।’
मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरत सिंह भण्डारी, महन्थ ठाकुर, राजकिशोर यादवहरुको नाउँ लिदै युवाहरुले मधेसी मोर्चाका नेताहरुको मधेसमा घरजग्गा किन किन्दैनन् र विदेशी बैंकमा लगेर पैसा किन जम्मा गर्छन् भन्ने संगीन आरोप समेत लागएका छन् ।
‘यदि मधेसकै जनताहरुको हित चाहन्थे भने, काठमाडांैमै मात्र घर र जग्गा किन जोडिरहेका छन् ? अनि मधेस आन्दोलनका नाउँमा मारिएका निहत्था जनताको टाउको गन्दै विदेशी डलर किन खाइरहेका छन् ?’
युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रमेश आचार्यले भने, ‘प्यारा मधेसवासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरु, तपाईहरुले सोध्ने गर्नाेस्, मधेसका नाउँमा पार्टी खोलेका यी महन्थ ठाकुर र उपेन्द्र यादवहरुले किन नेपालका बैंकहरुमा रकम जम्मा नगरी विदेशी बैंकमा राख्ने गरेका छन् ?’
हरेक पटक सत्ता बार्गेनिङ गर्ने कार्डका रुपमा मधेसी जनताको गरिबी, अशिक्षा र समस्यालाई सत्ताको भर्याङ बनाउने काम नेपाली काँग्रेसले गर्ने र सत्ताकै लागि बार्गेनिङ गर्ने काम मधेसी मोर्चाले गर्दै आएका कारण मधेस आज माथि उठ्न नसकेको उनीहरुको निष्कर्ष छ ।
महोत्तरीको बर्दिवास नगरको प्रथम अधिवेशन क्रममा आएका अधिकांश युवा नेताहरुले मधेस समस्याको कारण नेपाली काँग्रेस रहेको र काँग्रेसले नै विभिन्न लोभ लालचा देखाउँदै नेता बनाएकाहरुले पटक पटक काँग्रेस छाडेर जाँदै नयाँ दल खोल्दै यतिबेला युरोपियन युनियन र भारतीयहरुको स्वार्थमा रकमी राजनीति गर्ने गरेको उनीहरुको आरोप रहेको छ ।
मोहन तामाङको नेतृत्वमा बर्दिबास नगरपालिका कमिटी बनाउँदै युवा संघ केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले बर्दिवासमा एमालेको जित सुनिश्चित रहेको ठोकुवा गरे । कार्यक्रमको प्रमुख अतिथि रहेको उनले भने, ‘जब जब एमाले र उसका शुभचिन्तकहरुलाई समस्या पर्छ, टाउकोमा कफन बाँधेर युवा संघ नेपाल उत्रने गरेको छ ।
मधेस आन्दोलनका नाउँमा उच्चृंखल गतिविधि हुँदा पनि लाहानदेखि विरगन्जसम्म युवा संघले जनताको आशाको राँको बोकेको हो, अब पनि मधेसका सबै जिल्लाहरुमा एमालेलाई जिताउने गरी बर्दिबासबाट युवा संघले शंख घोष गरेको छ, हामीले मधेसका नाउँमा धन्दा गर्नेहरुको दुकान बन्द गर्नु पर्छ ।’
युवा संघ सचिव माधव बास्तोलाले मधेसमा पनि एमालेले नै जित्ने भएपछि चुनाव सार्ने बाहनामा विभिन्न तानाबुनामा लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।
उनले भने,‘कोइराला परिवारका हस्ती भनिएका बद्री कोइरालाले मलाई मोरङमा यसपालि त भोट मै पनि एमालेलाई हाल्ने छु, किनकि विपीको समाजवाद देउवाले मोदीको चरणमा लगेर सुम्पिएका छन् । देशको रक्षा गर्न पनि अब एमाले हामी सबैको पार्टी बनोस्, हामी साथ दिने छौं ।’
कार्यक्रममा एमाले जिल्ला तथा ३ नम्बर प्रदेश कमिटी सदस्यहरु सरिता ढुंगाना, दुर्गा दाहाल लगायत नेताहरुले समेत मधेस समस्या नेपाली काँग्रेस र मधेसका नाउँमा लागिरहेका दलहरु नै भएका आलोचना गरेका थिए ।
राजेन्द्र महतोको गाउँमा दलित बालबच्चालाई स्कुलमै गरिन्छ विभेद
राजेन्द्र महतोको आफ्नै टोलमा रहेको एउटा प्राथमिक विद्यालयमा दलित बालबच्चाहरुलाई पानी नचल्ने भन्दै छुट्टा छुट्टै कक्षाहरुमा पढाउने गराइएको भन्दै महतोको आलोचना गरेका थिए । ‘त्यसैले मधेस आन्दोलन सही नेतृत्वको हातमा नगएकाले मधेस राजनीतिका लागि भर्याङ बनाउनेहरुले कमाइ खाने भाँडो बनाएका छन्, उनीहरुलाई लिएर विदेशीले खेल्न थालेका छन्, हामीले दूध र पानी खुट्याउने बेला यही हो, सही राजनीतिक पार्टीलाई चुन्ने काममा भने चुक्नु हुँदैन । फटाहाहरुको दुकान सुकाइदिने गरी एकजुट हुनु पर्छ,’ वक्ताहरुले भने ।


