राजपाले निर्वाचन बहिस्कारको घोषणा गरेको एक दिन बित्न नपाउदै भारतले दियो यस्तो चेतावनी, – चुनावमा भाग नलिए तिमीहरु समाप्त हुन्छौ
स्थानीय चुनावमा सहभागी हुदैनौ भनेर बिच्किएका मधेसवादी दलहरुलाई भारतले चेतावनी दिएको छ । राजपाले निर्वाचन बहिस्कारको घोषणा गरेको एक दिन बित्न नपाउदै पूर्वभारतीय राजदूत राकेश सुदले द हिन्दुमा सोमबार एक आर्टिकल लेख्दै मधेसवादी दलहरुले आफ्नो अस्तित्व रक्षाकानिम्ति भए पनि दोस्रोचरणको स्थानीय चुनावमा भाग लिनुपर्ने सुझाव दिएका छन् । अहिलेको चुनावमा सहभागि हुन नसके मधेसवादी दलहरुको अस्तित्व नै समाप्त हुनसक्ने सुदको चेतावनी छ ।
स्थानीय चुनावमा भाग नलिए मधेसकेन्द्रित दल आगामी पाँच वर्षका लागि स्थानीय राजनीतिबाट बाहिरिने कुरा स्मरण गराउदै सुदले कार्यकर्तालाई थामिराख्न र आगामी प्रान्तीय र केन्द्रीय निर्वाचनमा राम्रो नजिता हात पार्न अहिले स्थानीय चुनावमा सहभागी हुनैपर्ने बताएका छन् ।
अहिलेको अवस्थामा नेपाली जनताले चुनाव चाँहिरहेको भन्दै सुदले राजपालाई जनमतको कदर गर्न समेत सुझाव दिएका छन् । ‘एउटा सानो संख्या बाहेक, जनाधार भएका अधिकांश मधेसवादी नेताहरु दोस्रो चरणको स्थानीय चुनावमा सहभागी हुनुलाई राजनीतिकरुपले तर्कसंगत ठान्छन् ।’सुदले लेखमा भनेका छन् । ‘चुनावप्रति स्थानीय जनताको जर्बजस्त आर्कषण उनीहरुले देखिरहेका छन् र यो पनि उनीहरुलाई थाहा छ कि, उनीहरु सहभागी नहुँदैमा चुनाव रोकिँदैन, बरु उनीहरुलाई घाटा हुनेछ ।’
यसअघि आइतबारमात्रै भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सिताराम यचुरी, जनतादल युनाईटेडका नेता शरद यादव, कंग्रेस आईका विदेश विभागप्रमुख डा. करण सिंह, भाजपा नेता एवं रेलमन्त्री सुरेश प्रभुले नवगठित राजपा नेपाललाई चुनावमा भाग लिन आग्रह गरेका थिए ।
राजपाले संविधान संशोधन गरिनुपर्ने, स्थानीय तहको संख्या बढाइनुपर्ने, मधेस आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गरिनुपर्ने, मृतकलाई सहीद घोषणा गरिनुपर्ने, बन्दीको रिहाई र झुटा मुद्दा फिर्ता लिइनुपर्ने लगायतका माग राख्दै सरकारसँग ‘बार्गेनिङ’ गरिरहेको छ ।


