उपेन्द्र यादवको स्पष्टोक्ति : जसले राजपा बनायो, उसैले चुनावमा आउन दिएन

काठमाडौं, ३० जेठ । केही समय अघि मूलधारकै अग्रणी राष्ट्रिय दैनिकले तराईकेन्द्रित विभिन्न ६ पार्टी मिलेर बनाइएको राष्ट्रिय जनता पार्टीको स्थापना कसरी भयो भन्नेवारे ‘मनछुने’ कथा प्रस्तुत गरेको थियो । राजपा बन्नुअघि ती समुहहरुले मुलुक विरुद्ध के के उद्यम गरे भन्ने कुनै चर्चा थिएन तर, टाढा–टाढाको दूरीमा रहेका नवगठित राजपाका नेताहरुका हर्षका आँशुवारे गजवको चित्रण थियो ।

राजपाको गर्भाधान हुनुअघि भारतीय दूतावासमा कति बैठक बसे र नेपालको संवैधानिक प्रक्रियालाई बिथोल्न कति निर्णय भए कथामा त्यसको चर्चा पनि थिएन । राजपा मार्फत अहिलेको सत्ता गठबन्धनलाई लगाम दिइएको सिंगै देशले अनुभुती गरे पनि फरक फरक समुहमा रहेर सत्ता गठबन्धन र राजपाले लिएको एउटै उद्धेश्यवारे त झन् चर्चा हुने कुरै भएन । मूलधारका मिडियामा फगत यति चर्चा थियो– मधेसलाई ‘उत्पीडन’बाट बचाउन त्यहाँका ‘देवदूत’हरु एकजुट भएका छन् । राजपाको माग र उद्धेश्यसँग तराई मधेसका जनताको कुनै सरोकार होस् नहोस् हाम्रा मूलधारका छापाहरुलाई त्यसको मतलव थिएन । राज्यले लोकतान्त्रिक प्रणालीको संस्थाकरण गर्न जेसुकै कदम चालोस् बरु तिनीहरुको टिप्पणी हुन्थ्यो– ‘राजपाले मान्ला ? राजपा वा मधेसी मोर्चालाई नमनाई यो बैधानिक होला ?’

हाम्रा मूलधारका छापा अखवारले यसरी पुल्पुल्याउँदै ल्याएका हुन् तराई मधेसमा दुईवर्ष अघिदेखि जारी हिंसा र जिद्दीलाई ।

त्यसमा गत वर्ष असारमा कांग्रेस माओवादीको सत्ता गठबन्धन बनाउन र ओली सरकार ढाल्न त संविधान अस्वीकार गर्ने भिष्मप्रतिज्ञामा रहेका उनीहरु पुष्पकमल दाहाललाई भोट हाल्न संसदमा दौडेर आएकै हुन् । नेपालको संविधान अस्वीकार गर्ने नेपाल बाहिरको शक्ति यहाँ कसको पक्षमा छ र कसको विपक्षमा छ भन्ने कुरा केपी ओली र सुशील कोइरालाबीचको प्रधानमन्त्री चुनावमा कोइरालालाई भोट हाल्न, ओली सरकार ढाल्दा पुष्पकमललाई भोट हाल्न र अहिले शेरबहादुरलाई भोट हाल्न एजेण्डा छोडेर आएको राजपा नै ठूलो प्रमाण हो । त्यसरी आफूलाई लगाम दिने राजपा अहिलेको सत्ता गठबन्धनका लागि नेपालका अन्य राजनीतिक दल जस्तो फगत एउटा दल मात्रै होइन र थिएन । राजपा पनि एउटा दल मात्रै थियो भने चुनावमा नआएका अन्य कयौं दललाई जस्तै बेवास्ता गरेर चुनावमा जान शेरबहादुर र पुष्पकमल उहिल्यै सक्षम हुन्थे । तर, राजपा कसैले बनाइदिएको नेपालको सत्ताको लगाम थियो ।

अव यो माथि उल्लेखित कुरालाई कसैले आरोप भन्न पनि सक्दैन । भारतीय जनता पार्टी(राजपा)को झण्डासँगै मिल्ने झण्डा र त्यसको चुनाव चिन्हसँग मिल्ने आकारकै छाता राखेको राजपा कसले बनाइदिएको दल थियो ? उत्तर दिन नमिल्ने यो प्रश्नको जवाफ सबैसँग छ । अव त राजपासँग दुई वर्ष अघिदेखि एउटै मोर्चामा रहेर अहिले स्थानीय चुनावमा आएका उपेन्द्र यादवले नै राजपा कसले बनाइदियो भन्ने खुलासा गरिसकेका छन् ।

सर्लाहीको नवलपुरमा सोमबार आयोजित कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने– ‘राजपा जसले जन्माएको हो, उसैको उक्साहटमा निर्वाचन विरुद्ध गएको हो ।’ भारतीय दूतवावासमै न्वारन भएको राजपाको जन्मकुण्डलीबारे पहिले एउटै मोर्चामा रहेका उपेन्द्र यादवले यति भनिसकेपछि राजपा कसले बनायो ? उ किन चुनाव बिथोल्न चाहन्छ ? चुनाव बिथोले पनि सत्ता गठबन्धनलाई भारतीय लगाम दिन सत्ता समर्थकचाहीँ किन बनिरहेको छ भन्ने कुराको उत्तर आएन र ?

यादवले सर्लाही नवलपुरको कार्यक्रममा मात्र होइन मंगलवार बिहान रेडिायो नेपालको अन्तरसंवाद कार्यक्रमलाई दिएको अन्तरसंवादमा पनि त्यस्तै खुलासा गरेका छन् । उनले त्यहाँ भनेका छन्– ‘दिउसो मधेस आन्दोलनको कुरा, साँझ पैसाको कुरा र बेलुका मन्त्री हुने कुरा गर्छन् । भोलिपल्ट दिउसो फेरि मधेस आन्दोलनको कुरा गर्छन् ।’ यादवले ब्यक्त गरेका कुरा राजपा वा मधेसी मोर्चाको नाममा नेपालले भोगेको दुब्यवहार हो । मधेसमा जनतालाई आफ्नो विकासका प्रतिनिधि चुन्न दिंदैनन् तर, सिंहदरवारमा भारत अनुकुल पात्र चुन्न र नेपालको हित अनुकुलका पात्रलाई ढाल्न पटक पटक भोट हाल्न यिनीहरु दौडेको देखिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।