गृहमन्त्रीले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनेको केही दिनभित्रै गुन्डा नाइके दावा लामा फरार
काठमाडौं, ३० जेठ । गृहमन्त्री जनार्दन शर्माले ‘गुन्डाहरूलाई तह लगाउँछु’ भनको केही दिनभित्रै कथित ‘डन’ अर्थात गुन्डा नाइके दावा लामा फरार भएका छन् । गुन्डा नाइके दावा लामा आफ्ना दुई साथी फुर्वा लामा र सञ्जीव तामाङसँग सिङ्गापुरतिर फरार भएका हुन् । अहिले यी तीन जनाको जोडी सिङ्गापुरमा घुमेर दिन कटाउने गरेको छ ।
नेपाली कांग्रेसबाट काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थ लामाको संरक्षणमा राजधानीमा गुन्डागर्दी गर्दै आएका दावा लामालाई नयाँ गृहमन्त्री जनार्दन शर्माको सार्वजनिक चेतावनीले तर्साएको छ । सोही डरका कारण दावा लामा डराएर सिङ्गापुरतिर भागेको उच्च सुरक्षा स्रोतको भनाइ छ ।
राजधानीमा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका दावा लामालाई अघिल्ला गृहमन्त्री विमलेन्द्र निधिले सांसद तीर्थ लामाको दवावमा संरक्षण गर्दै आएका थिए ।
माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आतंकित बनेका दावा लामा आफ्ना दुई साथीलाई काखीच्यापेर सिङ्गापुरतिर फरार भएको उच्च प्रहरी स्रोतको भनाइ छ । ती दुई साथी फुर्वा लामा र सञ्जीव तामाङले दावा लामाका गैरकानूनी कार्यमा सहयोग गर्दै आएको अपराध महाशाखा टेकुले जनाएको छ ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘दावा लामाका कारण शान्ति सुरक्षामा चुनौती थपिएको छ । अघिल्ला गृहमन्त्री विमलेन्द्र निधिको ठाडो दवाव र आदेशमा पक्राउ गरेर पनि दावा लामालाई छाड्नु परेको थियो । अब नयाँ गृह मन्त्री आएका छन् । दावा लामालाई संरक्षण गर्छन् कि कारबाही गर्न सहयोग गर्छन् हेर्न बाँकी छ ।’ ती सुरक्षा अधिकारीले भने, ‘हुन त नयाँ गृहमन्त्री जनार्दन शर्माले गुन्डाहरू तह लगाउने भन्नु भएको छ । हामीलाई सहयोग गर्नु हुन्छ होला ।’
दुई महिना अगाडि काठमाडौंको गौरीघाटमा अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका दावा लामाको स्वास्थ्यमा सुधार भइसकेको छ । दावा लामाले आफूलाई गोली हान्ने समूहलाई पक्राउ गर्न र अनुसन्धानमा असहयोग गरेको प्रहरी भनाइ छ । सो घटनाका दोषी पक्राउ पर्दा आफू पनि फस्ने डरले दावा लामाले अनुसन्धानमा असहयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हुन त दावा लामाले घटनामा कुनै संलग्नता नै नदेखिएकाहरूको नाम पनि मुछेका थिए । दरबारमार्ग क्षेत्रलाई आफ्नो गैरकानून कार्यको अखडा बनाएका दावा लामालाई कांग्रेस नेताहरूको संरक्षण रहेको छ ।


