राजपाले जे-जे भन्यो शेरबहादुर र प्रचण्डले त्यही-त्यही गर्ने, फेरि चुनाव सार्ने तयारी

काठमाडौं, ३१ जेठ– शेरबहादुर देउवा र पुष्पकमल दाहालले चलाएको सरकार आवरणमा मात्रै कांग्रेस–माओवादीको सरकार हो । उनीहरुको सरकार चलाउन देखिनेगरी तयार भएको रिमोट हो राजपा । राजपालाई रिमोटले थिचेर चलाउँछ भारतीय दूतावास । यदि यसो नभइदिएको भए आज जेठ ३१ गते मुलुकमा दोस्रो चरणको स्थानीय तहको चुनाव चलिरहेको हुन्थ्यो । अझ बैशाख ३१ गते एकै चरणमा चुनाव सकिएर देशभर अहिले स्थानीय तहका जनप्रतिनिधिले आफ्नो काम थालिसकेका हुन्थे ।

किन यसो भएन त ?
किन यसो भएन भने भारतले नेपालको अस्थिरताका लागि जसरी टाउको जोडेर शेरबहादुर पुष्पकमलको गठबन्धन बनाइदिएको थियो, त्यसैगरी त्यो गठबन्धनलाई नियन्त्रण गरेर आफू अनुकुल राख्न तराईका विभिन्न हिंसात्मक गुट असक्षम भएपछि टाउको जोडेर राजपा नामको आफ्नो रिमोट फोर्स तयार गरेको थियो । राजपा नामको त्यही रिमोटले जे इसारा गर्छ पूर्वर्ती दाहाल नेतृत्वको सरकार र अहिलेको देउवा नेतृत्वको सरकारले त्यसैलाई सदर गर्ने हो, त्यही गर्दै आयो । नेपालमा कयौं दल छन्, जो चुनावमा सामेल छैनन् । तर, राजपा नामको एउटा दल छ जसका सामु राज्यको कानुन, संविधान, प्रणाली, निर्वाचन पद्दति झुक्नु पर्छ र झुक्ने बाचामा शेरबहादुर–पुष्पकमलले गत असारमा गठबन्धन बनाउँदै सहीछाप गरेका छन् । त्यही सहीछापको नतिजा हो संविधान संशोधनको बारम्बारको प्रयास । संविधान संशोधन किन ? र संविधान संशोधन भएपछि तराई मधेसका जनताले के पाउँछन् ? त्यसमा बहस नगरी शेरबहादुर–पुष्पकमलकै वरिपरी घुम्ने उपग्रह ‘बुद्धिजीवी’ र सम्पादकहरुले पनि तराई मधेस कास्मिर बन्ने त्रास समाजमा खडा गर्दै आए । फलस्वरुप राजपाको आवरणमा पुल्पुल्याइएको बैदेशिक अतिवाद चुनाव रोक्ने अन्तिम गृहकार्य गरिरहेको छ । अझै आवरणमा यहाँका बौद्धिकहरु राजपालाई मनाउने निरर्थक स्वैरकल्पना वितरण गरिरहेका छन् ।

राजपाको निर्माण कससले गर्यो भन्ने कुरा उपेन्द्र यादवको तलको भनाई आएपछि दुविधामा रहनु पर्ने छैन । यादवले भनेका छन्– ‘राजपाको समस्या भनेको आन्तरिक हो । पार्टी दर्ता नहुनु, चुनाव चिह्न नहुनु, पुरानो चुनाव चिह्नका लागि एकमत नहुनु, कसैले कसैलाई स्वीकार नगर्नु राजपाका समस्या हुन् । अर्काले टाउको त जोड्दियो तर आत्मा र विचार अरूले जोडेर जोडिन्न नि ! त्यही भएर छ जना नेता छतिर फर्किएका छन् । ‘म्याथम्याटिक्स’ त बनाइदिए । एक एक प्लस गरेर छ भयो, तर ‘केमेस्ट्री’ मिलेको छैन । यही आन्तरिक द्वन्द्वका कारण चुनावमा उहाँहरूलाई अप्ठेरो भएको छ । तर, यो जनताको समस्या त होइन, जनताले त चुनावै चाहेका छन् ।’ राजपाको मधेसमा जनमत, राजपाको निर्माणकर्ता र चुनाव रोक्ने उसको उद्धेश्य बुझ्न उपेन्द्र यादवका यति भनाई काफी छैनन् र ?

करिव यस्तै भनाई हो धेरै पहिले देखि एमाले अध्यक्ष केपी ओली र आम नेपाली नागरिकको पनि । तर, मुलुकलाई हिंसामा लैजाने र तराईलाई कास्मिर चित्रण गर्न प्रयास गर्ने बौद्धिकहरुले प्रशान्त झा नामको ‘उत्पीडित’ मधेसी बिम्ब खडा गरिदिएर देश विरुद्धको राजपाको अभियानप्रति विमति राख्नुलाई नश्लवाद भनी प्रचार गरिदिए । आज त तराईमा पारीबाट ल्याइएकाहरुले नै हिंसा मच्चाएका हुन् र नेपाली जनता चुनाव चाहन्छन् भन्ने उद्गार उपेन्द्र यादवका मुखबाटै सुन्न पाइएको छ ।

‘सर्लाहीमा सभा गर्न नदिने, हाम्रो पार्टीलाई प्रवेश नै गर्न नदिने भनेर सात दिनदेखि अभ्यास भएको थियो । नेपालबाट मात्र नभएर, भारतबाट समेत मान्छे बोलाइएका थिए । तर, नेपाली जनता चुनाव चाहन्छन्, पारीबाट ल्याइएका मान्छेले रोकेर चुनाव रोकिँदैन । जनताले डन्डा लगाएर ती मान्छेलाई लखेटेर पठाइदिए । जनताको उत्साहजनक उपस्थितिले हाम्रो कार्यक्रम शानदार ढंगले सफल भयो । हाम्रो कार्यक्रम बिथोल्न खोज्नेलाई जनताले नै लखेटे । हाम्रो सभा बोर्डरको छेउमै थियो । त्यहाँबाट उनीहरू पारी भाग्नुको अर्थ घर उतै हो भन्ने नै बुझिन्छ । राजेन्द्र महतोको घर छ उता इन्डियापट्टि । कोहरबा भन्ने ठाउँका मान्छे हुन् उनी । नेपाली त पछि बनेका हुन् । ढाँटेर नागरिकता लिएका हुन् । हाम्रो सभा बिथोल्न त्यही कोहरबाबाट मान्छे ल्याइएका थिए । तर, जब नेपाली मधेसीहरूले डन्डा उठाए, त्यसपछि भारतबाट ल्याइएका भाडाका मान्छे भागे । त्यत्रा जनता हाम्रो पार्टीमा प्रवेश गर्न आए । यसले जनता चुनाव चाहन्छन् भन्ने संकेत गर्छ ।’

उपेन्द्र यादवबाट बाहिर आएका यी कुरा आजका मात्रै होइनन् । गत फागुनमा सप्तीमा एमालेको मेची महाकाली अभियान बिथोल्न पनि यसैगरी पारीबाटै मान्छे ल्याइएको थियो र तिनलाई नेपाली मधेसी भनिएको थियो । नेपाली मधेसीमाथि आक्रमण गर्न राजपा, राजपाको मार्गदर्शनमा चल्ने शेरबहादुर–पुष्पकमल सरकार संयुक्त रुपमा सक्रिय छन् । चक्रपथबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।