भारतको खतरनाक खेल : बाहिर चुनावको समर्थन, भित्र आन्दोलन गर्न राजपा उचाल्दै

काठमाडौं ३, असार । भारतीय राजदूत रञ्जिभसिंह पुरीले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुलाई पटक पटक लैनचौर दूतावासमै डाकेर चुनावमा जान सुझाव दिइसकेका छन् । ‘चुनावमा जान राजपालाई भारतको सुझाव’ भन्दै त्यो समाचार मिडियामा प्राथमकिताका साथ आयो ।

बाहिरी दुनियालाई देखाउन भारतले आफूलाई चुनाव समर्थक प्रस्तुत गर्दैछ, तर भित्री नियत र यथार्थ त्यसको ठीक उल्टो छ । राजपालाई चुनावमा जाने सुझाव दिएको कुरा भारतद्धारा रचिएको एउटा नाटक मात्रै रहेको खुलासा भएको छ ।

उच्च राजनीतिक स्रोतका अनुसार भारत कुनै पनि हालतमा नेपालमा चुनाव हुनै दिन चाहन्न । जसरी भएपनि चुनाव रोक्ने भारतको भित्रि योजना छ । सरकारले तीन वटै निकायको समयमै चुनाव गराउन तत्पर छ, भारत अप्रत्यक्ष रुपमा त्यसको बाधक बनेर उभिएको छ ।

‘भारत आफैले चुनाव बिथोल्न मिल्दैन । राजपालाई यस्तै कामका लागि गठन गरियो, अनि अहिले चुनाव बिथोल्न उसलाई सडकमा पठाइएको छ’– उनले भने ।

अहिले राजपा नै त्यस्तो संगठन हो, जो चुनाव बिथोल्न सडकमा होमिएको छ । कमल थापा, मोहन बैद्य लगायत बाकी सबैदलहरु चुनावमा गइसकेका छन् । राजपाको गठन र अहिलेको सबै गतिविधिहरु शंकास्पद, रहस्यमय र आश्चर्यचकित पार्ने किसिमका छन् ।

‘चुनाव बिथोल्ने रणनीति अनुसार नै भारतले ६ वटा मधेश केन्द्रीत दलहरुलाई मिलाएर रातारात राजपा गठन गराइदिएको हो । राजपा अहिले जे गर्दैछ त्यो उसको निर्णय वा चाहना हुँदै होइन । पर्दा बाहिर राजपा छ, पर्दा पछाडि भारत’– स्रोतले भन्यो ।

सरकारले संविधान संशोधनका लागि लिखित प्रतिबद्धता जाहेर गर्यो, स्थानीय तहको संख्या थप्यो (सर्वोच्च अदालतको आदेशले कार्यान्वयन भएको छैन), पटक पटक चुनावको मिति सार्यो, तर राजपा चुनावमा आउनुको सट्टा उसको माग झन् बढ्दै गयो । एक नेताका अनुसार भारतको दबाबकै कारण हामी चुनावमा जान सकिरहेका छैनौ । एकपछि अर्को माग राख्दै कुरा अड्काएर चुनाव बिथोल्न लगाएर भारतले स्वार्थपूर्ति पश्चात् राजपालाई पनि घर न घाटको बनाउने घटनाक्रमले देखाउँदैछ ।

सरकार हदैसम्मको लचकता देखाउँदा पनि राजपाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने पुरानो निर्णय यथावत रहेको भन्दै सबैलाई चकित तुल्याइदिएको छ । हिजो शुक्रबार मात्रै उसले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । यसले के देखाउँछ भने, राजपाको नियत चुनाव बिथोल्ने नै हो, सरकारले राजपाको मागहरू सबै पूरा भए पनि निर्वाचनमा भाग लिन्छ भन्ने कुराको कुनै ग्यारेन्टी अब रहेन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले निर्वाचनपछि संविधान संशोधन गर्ने र त्यसमा प्रमुख विपक्षी दल एमालेले पनि सहयोग गर्ने आश्वासन आफूले पाएको अभिव्यक्ति संसदमा भनी सकेका छन् । यस्तो अवस्थामा राजपा नेपालले आफ्नो हठलाई किन यथावत राखेको छ भनेर धेरैको मनमा आशंका उब्जिनु स्वभाविक हो ।

राजपा नेपालका नेताहरूले केही समय अगाडि नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई लैनचौरस्थित दूतावासभित्रै गएर सामूहिक रुपमा भेट गरे । त्यति मात्रै होइन, राजपा नेपालका नेताहरूले राजदूत पुरीलाई एक्लाएक्लै भेटेर राजनीतिक सल्लाह लिने गरेको स्रोतको भनाइ छ । राजपा नेपालका नेताहरू आफ्नो निर्णयले भन्दा पनि भारतीय राजदूत पुरीको सल्लाहमा हिँडेका कारण पार्टीलाई नोक्सान भएको सोही दलका दोस्रो तहका नेताहरूको भनाई छ ।

भारत किन चुनाव बिथोल्न चाहन्छ ?
नेपालमा संविधान कार्यान्वयन भएको हेर्न पटक्कै नरुचाउने भारतीय पक्षले तराईमा स्थानीय तहको दोस्रो चरणको चुनाव कुनै पनि हालतमा हुन नदिने योजनामा रहेको स्रोतको दाबी छ । नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘नेपालमा बनेको नयाँ संविधानबाट भारतीय पक्ष खुसी छैन । त्यसकारण भारत न चुनाव चाहन्छ, न संविधानको कार्यान्वयन ।’

स्थानीय तहमा गएको अधिकारबाट पनि भारत खुसी छैन । जनतालाई अधिकार दिँदा नेतृत्वलाई जनताले नटेर्ने र भारतीय पक्षको चाहना अनुसार काम गर्न सकिँदैन भन्ने बुझाई छ । सोही कारण संविधान विफल बनाउन र चुनाव हुन नदिन राजपालाई भारतीय पक्षले प्रयोग गरिरहेको छ । ‘हेर्नु होला राजपालाई उचालेर भारतले कुनै पनि हालतमा असार १४ गते स्थानीय तहको चुनाव गर्न दिँदैन । भारतीय राजदूत मञ्जिभसिंह पुरी सक्रिय रुपमा लागि सकेका छन्’– ती नेताले भने । नभन्दै पर्सादेखि सप्तरीसम्म दुई नम्बर प्रदेशको चुनाव स्थगित भयो ।

हिन्दूराष्ट्र र राजतन्त्र पुनःस्थापना भारतको मुख्य एजेन्डा
भारतले कुनै पनि हालतमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउने रणनीति बनाइसकेको छ । राजतन्त्रसहितको हिन्दू राष्ट्र स्थापनाका लागि भारतले अनेक तानाबुना बुन्दैछ । नयाँ संविधानमा धर्मनिरपेक्षता शब्द परेदेखि नै भारतले संविधानलाई रुचाएको छैन । मधेशी, आदिवासी जनजाति, दलित, महिला वा उत्पीडित समुदायको अधिकार संविधानमा समेटिएन भन्दै भारतले जतिसुकै कुतर्क गरेपनि यथार्थमा भारतलाई जनताको मुद्दासँग फिटिक्कै सरोकार छैन ।

भारतमामिला एक जानकारका अनुसार नयाँ संविधान समावेशी भएन, जनता अधिकार समेटिएन भन्नु भारतको देखावा मात्रै हो, उसको मुख्य एजेन्डा त नेपालाई राजतन्त्रसहित हिन्दू राष्ट्र घोषणा गराउनु हो ।

संविधानलाई विफल बनाई खारेज गराउनुमैं भारतको सफलता लुकेको छ । किनकि, संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्र गरी तीन वटै निकायको चुनाव सम्पन्न भइसक्नु पर्छ । ‘संविधान खारेजीका लागि चुनाव हुनै नदिनु भारतको पहिलो रणनीति हो’– उनले भने । भारतको त्यही गोटी बनेर राजपा अहिले चुनावा बिथोल्न भएभरको शक्ति लगाएर सडमा ओर्लिएको छ ।

विवादि बन्दै भारतीय राजदूत पुरी
राजपा नेपाललाई भारतीय राजदूत पुरीले पनि अघिल्ला राजदूत रञ्जीत रेले जस्तै प्रयोग गर्न थालेको आरोप लाग्न थालेको छ । नेपालमा राजदूत भएर भरखरै आएका पुरीले मधेस केन्द्रित दलका शीर्ष नेताहरूलाई मात्रै बोलाएर भेट्नुले पनि आशंका गर्ने प्रसस्त ठाउँ राखिदिएको स्रोतको भनाइ छ ।

नेपालको आन्तरिक मामिलामा भारतीय राजदूत पुरीले खुला रुपमा हस्तक्षेप गर्न थालेको आरोपहरू दिन प्रतिदिन बढ्न थालेको छ । पुरीको गतिविधिलाई पुष्टि हुने गरेर राजपा नेपाले आफ्ना काम गर्दा झन् आशंका बढेको हो ।

राजदूत पुरीले राजनीतिक दलका नेताहरू विशेष गरेर मधेस केन्द्रित दलका नेतासँगको दैनिक भेटवार्ता र सम्वादले गर्दा पनि उनी विवादमा तानिन पुगेका छन् । उनले मधेस केन्द्रित मात्रै होइन कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरूसँग पनि बेलाबेला भेटवार्ता गरेर विभिन्न विषयमा परामर्श गर्ने गरेको स्रोतको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।