कांग्रेसले गर्यो बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही, को–को परे ?
काठमाडौं, ८ असार । नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा वागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गरेको छ ।
कांग्रेस मुख्यालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार असार १४ गतेको निर्वाचनमा वागी उम्मेदवार बनेका र समर्थक तथा प्रस्तावकहरू असार ७ गतेदेखि स्वतः कारबाहीमा परेको जनाएको हो ।
‘असार १४ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएको भए त्यस्ता वागी उम्मेदवार र प्रस्तावक तथा समर्थक कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार २०७४ असार ७ गतेदेखि पार्टीबाट स्वतः निस्कासित भएको जानकारी गराइन्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई असहयोग हुने क्रियाकलापमा संलग्न रहेको प्रमाणित भएमा त्यस्ता व्यक्तिहरूको नामावली पार्टीका विभिन्न तहका कार्यसमितिहरूले जिल्ला कार्यसमितिमार्फत् कांग्रेस केन्द्रीय कार्यालयमा तत्काल पठाउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा टिकट नपाएर असन्तुष्ट बनेका नेताहरूले कांग्रेसका उम्मेदवारविरुद्ध अधिकांस स्थानमा वागी उम्मेदवारी दिएका छन् ।
ती उम्मेदवार र समर्थक एवम् प्रस्तावकहरूलाई नेपाली कांग्रेसले असार ७ गतेदेखि कारबाहीको ‘डण्डा’ चलाएको हो । यो कारबाहीले ती उम्मेदवारका साथै प्रस्तावक र समर्थकलाई ठूलो झट्का लागेको छ ।


