‘स्यालको बथान जतिसुकै ठूलो भए पनि हात्तिको शिकार गर्दैन’

मोरङमा ओली– राष्ट्रिय झण्डा उठाउँदा कांग्रेस रिसाउँछ, झण्डा जलाउँदा थपडी मार्छ

उर्लाबारी मोरङ, १० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरेका छन् । देशको बिकास र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षाको बिन्दुमा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरे पनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने ठोकुवा गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्ती बिरुद्ध स्यालहरुको बथानको संज्ञा दिए । ‘तपाईहरुलाई थाहै छ, कांग्रेस र माओवादी केन्द्र एमाले बिरुद्ध मोर्चा कसेर आएका छन्’ ओलीले भने, ‘स्यालको बथान जतिसुकै ठूलो भए पनि हात्तीको सिकार गर्न सक्दैन । स्याल हात्तीको छेउमा पनि आउन सक्दैन, पर–परबाट कराउने मात्रै हो ।’ उनले देशको बिकास र संमृद्धिका लागि एमाले भन्दा अर्काे बिकल्प नभएकोमा कुनै भ्रम नपाल्न समेत आग्रह गरे ।

पछिल्लो समय नेपाली कांग्रेसको मुल नेतृत्वलाई राष्ट्रियता र संमृद्धिको कुरा गर्दा रिस उठने गरेको भन्दै ओलीले कोही रिसाउँछ भनेर देश र जनताको हितको रक्षार्थ पछि हट्न नसकिने वताए । ‘एमालेले राष्ट्रिय झण्डा किन उठायो भन्दै कांग्रेस नेताहरु कराउँछन्, राष्ट्रिय झण्डा जलाउँदा ताली बजाउँछन्, आनन्द मान्छन्’ ओलीले भने, ‘कांग्रेसलाई जतिसुकै रिस उठे पनि हामी राष्ट्रिय झण्डा बुलन्द गरिरहन्छौं, स्वाभिमान झुक्न दिँदैनौं ।’

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी झुट र भ्रमको साहरा लिएर जनतामाझ आएको भन्दै सतर्क रहन पनि ओलीले अपिल गरे । ‘कुनै भ्रममा नपर्नाेस, कांग्रेस र माओवादी पार्टी देश बनाउनका लागि आएको हुँदै होइन, बिगार्नका लागि मात्रै जन्मिएका हुन् । उनीहरुले मुलुक बनाउँछन् भन्ने भ्रमजालमा अव कोही रहनु हुन्न,’ ओलीले भने, ‘उनीहरुले देश बनाउने काम गरेको एउटा पनि उदाहरण छैन, जनताको हित गरेको एउटा पनि उदाहरण छैन । त्यसैले उनीहरुले एमालेले जनताको हितमा, देशको हितमा काम गर्ने भयो भनेर रोक्नका लागि मोर्चावन्दी कसेका हुन् ।’

उनले देश बनाउने कुरा गर्दा बहुलायो भन्ने कांग्रेस र माओवादी अनि सांसद र मन्त्री बन्नका लागि पार्टी खोलेका केही मधेसी नेताको अफवाहको पछि लागे मुलुक बर्वाद हुने तथ्यसमेत राखे । ‘देश बनाउने कुरा गर्दा, राष्ट्रिय स्वाभिमानको कुरा गर्दा खोक्रो राष्ट्रवाद भन्ने, उत्तर–दक्षिण बाटो चौडा बनाउने कुरा, हुलाकी राजमार्ग बनाउने कुरा गर्दा, नाकावन्दी नहुने कुरा गर्दा मजाक गर्नेहरुले तपाईको स्थानीय तह र देश बनाउँदैनन्, उनीहरुको लक्ष परजीवी बनाउने नै हो,’ ओलीको भनाई थियो ।

एमाले अध्यक्ष ओलीले उर्लाबारीमा एमाले उम्मेदवार भुपालसिं जिमी र उपमेयर लक्ष्मी भण्डारी नेतृत्वको टीमलाई बिजयी बनाएर बिकासका लागि अग्रसर हुन अपिल पनि गरे । ‘उर्लाबारीमा भुपालसिं जिमी र लक्ष्मी भण्डारीसहित सवै एमाले उम्मेदवारलाई जिताउनोस्, बिकासको जिम्मा हामी लिन्छौं,’ ओलीले भने । ओलीले समयले साथ दिएसम्म बिजय जुलुसमा सहभागी हुन आउने भन्दै मतदाताको मनोवलसमेत बढाए । ‘यति धेरै मतदाता यहीँ भएपछि उर्लाबारीमा एमाले उम्मेदवारले जितिसके, १४ गते मत हालेर नतिजा नआउँदासम्म तपाई सवै सतर्कताका साथ बिजय जुलुसका लागि पर्खनोस्, भ्याएँ भने तपाइहरुको बिजय उत्सवमा म पनि आउँछु,’ ओलीले भने ।

कांग्रेस–माओवादीले धेरै ठाउँमा उम्मेदवार नै पाएन
एमालेबिरुद्ध जतिसुकै मोर्चावन्दी गरे पनि दोस्रो चरणमा हुन लागेको ३ सय ३४ स्थानमध्ये धेरै ठाउँमा कांग्रेस र माओवादीले अध्यक्षको उम्मेदवार नै नपाएको ओलीले जानकारी दिए । ‘३३४ स्थानमध्ये माओवादीले धेरै ठाउँमा प्रमुखको उम्मेदवार पाएन, कांग्रेसले १० ठाउँमा उम्मेदवार नै पाएन, एमालेले मात्रै सवै ठाउमा उम्मेदवार उठाएको छ,’ उनले भने ।

ओलीले १४ गते हुने दोस्रो चरणको निर्वाचनमा पहिलो चरण भन्दा निकै बढी जित हासिल गर्ने घोषणा गरे । ‘एकथरी जनताका दुश्मनहरु पहिलो चरणको निर्वाचन परिणाममा एमाले पहिलो पार्टीको रुपमा आयो, दोस्रोमा रोक्नुपर्छ भनेर आत्तिएका छन् । यिनीहरुको मनमा ढयांग्रो ठोकेको छ,’ ओलीले भने, ‘तपार्इंहरु ढुक्क हुनोस्, दोस्रो चरणमा एमाले पहिलो चरणको भन्दा धेरै अगाडि जानेछ, जीतको मार्जिन अझै फराकिलो हुनेछ ।’

ओलीले नदि नियन्त्रण र बाटोका समस्या, ढल, शिक्षा स्वास्थ्यका समस्याहरु अवको स्थानीय सरकारले पूरा गर्ने वताए । त्यसको लागि एमालेलाई जिताउन लाग्नु पर्ने ओलीको भनाई थियो । – चक्रपथबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।