फसेको रकम उठाउन अपहरण, पीडित दम्पतीमाथि पनि ठगी मुद्दा

काठमाडौं, असार १२ । राजधानीको गोंगबु, नयाँ बसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडीबुटी व्यापारी दम्पती कविता दाहाल र गोपालबाबु श्रेष्ठ शनिबार बिहानै होटलबाटै अपहरणमा परे ।

सूचना पाउनासाथ खटिएको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई तीन घण्टामै मुक्त गर्‍यो । अपहरणमा संलग्न विप्लव माओवादी सम्बद्ध शक्ति विश्वकर्मा र उनलाई सघाउने अन्य तीन जना पक्राउ परे ।

योजना बनाउने विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङ र राजेश भन्ने कार्यकर्ता बेपत्ता छन् ।

राजधानीमा भएको अपहरणको यो पछिल्लो घटना अपहरणका अन्य घटनाभन्दा केही फरक छ । फसेको रकम उठाइदिएर कमिसन खाने धन्दामा विप्लव माओवादीका कार्यकर्ता कसरी संलग्न छन् भन्ने तथ्य उजागर गर्छ यस घटनाले ।

अपहरणको यो खेल तीन वर्ष अघिको घटनासँग जोडिएको छ ।

कलंकी, सुनारगाउँका मदनकृष्ण महर्जन र अञ्जु देउला महर्जन दम्पतीले कालीमाटीमा रहेको कस्मेटिक पसल साढे तीन लाख रुपैयाँमा बेचेका थिए । पसल खरिद गरेकी थिइन्, भक्तपुर चाँगुनारायण नगरपालिका झौखेल २ की कविता दाहालले ।

जडीबुटी व्यापारमा संलग्न कविता र गोपालले महर्जन दम्पतीलाई पसल किनेबापतको रकम लामो समयसम्म तिरेनन् । बरु उल्टै जडीबुटीमा लगानी गरे मनग्य कमाइ हुने भन्दै थप ५ लाख रुपैयाँ फुस्काए । त्यति मात्र होइन, महर्जन दम्पतीमार्फत अञ्जु भारतीबाट पनि १० लाख रुपैयाँ हात पार्न सफल भयो यो दम्पती । यसरी साढे १८ लाख रुपैयाँ लिएपछि कविता र गोपाल महर्जन दम्पतीको सम्पर्कबाट टाढिन थाले । पैसा तिर्ने भाका कैयन् पटक गुज्रिए पनि उनीहरूले रकम फिर्ता गरेनन् । बरु उल्टै तर्केर हिँड्न थाले ।

स्रोतका अनुसार फसेको रकम उठाउन महर्जन दम्पती र भारतीले कालीमाटी प्रहरीचौकीमा पनि उजुरी दिएका थिए । तर प्रमाण अभाव भन्दै प्रहरीले मुद्दाको अनुसन्धान अगाडि बढाएन । रकम नउठेपछि आत्तिएका उनीहरू विप्लव माओवादीका कार्यकर्ता राजेश भन्ने व्यक्तिको सम्पर्कमा पुगे । राजेशले उनीहरूलाई विप्लव माओवादीको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका सचिव रजमान तामाङसँग भेटाइदिए । अपहरण गरेर भए पनि फसेको पैसा उठाइदिने र त्यसबापत कमिसन लिने सर्तमा रजमान र राजेशले अपहरणको योजना बनाएका थिए । त्यसमा सघाउन भने उनीहरूले विप्लव माओवादीमा आबद्ध शक्ति विश्वकर्मालाई पनि प्रयोग गरेका थिए ।

प्रहरी स्रोतका अनुसार रजमानले दाहाल दम्पतीसँग ९६ लाख रुपैयाँ तिर्न बाँकी रहेको कागज गराउने तयारी थालेका थिए । तर त्यस्तो कागज गर्नुअघि होटलमा रहेको केही कागजात ल्याउनुपर्ने भनेपछि गोपाललाई लिएर शक्ति र मदनकृष्ण होटलमै पुगे । अञ्जु, भारती र कविता कार्यालयमै बसे । होटल पुगेका तीनै जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गर्‍यो । कवितालाई भने अञ्जु र भारतीको टोलीले अन्तै सार्न लागिरहेका बेला प्रदर्शनीमार्गबाट प्रहरीले नियन्त्रणमा लियो । मुख्य योजनाकार रजमान र राजेश फरार छन् ।

अपहरणकारी र अपहरित दुवै पक्षलाई महानगरीय अपराध महाशाखाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अपहरणमा परेका दम्पतीमाथि काठमाडौं प्रहरी परिसरमा समेत ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।