महिलाको मञ्जुरीबिना अश्लील हर्कत गरे, संवेदनशील अंग छोए वा छुने प्रयास गरे के हुन्छ ? यस्तो छ कानूनी उपचार…
कसैले कुनै महिलाको मञ्जुरीबिना संवेदनशील अंग छोए वा छुने प्रयास गरे निजले भित्र लगाएको लुगा खोले वा खोल्ने प्रयास गरे, एकान्त ठाउँमा लगे, यौनाङ्ग छुन लगाए, समाउन लगाए, अश्लील शब्द वा संकेत प्रयोग गरे, अश्लील तस्बिर देखाए, हैरानी दिए वा करणी (यौनसम्बन्ध) राख्ने आशयले समाते यौन दुव्र्यवहार मानिन्छ र त्यस्ता व्यवहार कसैले गरेमा त्यस्ता व्यक्तिलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।
त्यस्तै गाली–बेइज्जती ऐनअन्तर्गतबाट कानुनी प्रक्रियामा जाने हो भने आफूलाई समस्या भएको मितिबाट ६ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा उजुरी गर्नुपर्छ । यो ऐनमा ६ महिना कैद वा मनासिब माफिकको क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।
त्यसैगरी केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७ अन्तर्गत कानुनी प्रक्रियामा जाने हो भने आफूलाई समस्या भएको समयबाट ७ दिनभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गर्नुपर्छ । त्यस्तो दुव्र्यवहार गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तथा २ वर्षसम्म कैद सजाय हुन्छ । तर यस्तो अवस्थामा ठूलो समस्या भनेको प्रमाणको हुनसक्छ ।


