‘१६ महिनापछि फोन गर्दा शान्तिले श्रीमानकै आवाज चिनिनन्, आमासँग भने दसैँमा घर आउँछु’

काठमाडौं, असार २५ । १६ महिना भइसकेको थियो बोल्न नपाएको । त्यसैले श्रीमानकै बोली पनि नौलो लाग्यो शान्तिलाई । शान्तिलाई श्रीमानले कुनै दिन फोन गर्छन भन्ने पनि थिएन् ।

तर शान्तिलाई श्रीमान ज्ञानबाहादुरले १६ महिनापछि गएको शनिबार फोन गरेका छन् । ज्ञानबहादुर सम्पर्कविहिन भएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि उनले फोन गरेका हुन् ।

‘मोबाइल सिरानीमै राखेर सुतेकी थिएँ नयाँ नम्बरबाट आएको फोन त उठाएँ तर सुरुमा उहाँ हो भन्ने चिनिनँ’ शान्तिले भन्नुभयो । तर श्रीमानको बोली ठम्याएपछि भने उहाँको खुशी सीमा छैन । लामो समयपछि फोन आएकाले शान्तिले धेरै कुरा सोध्ने मेसो पनि पाउनुभएन ।

श्रीमती जस्तै तनावमा थिइन आमा निरमाया पनि । छोराले फोन गर्दा उनी त निदाई सकेकी थिइन । बुहारीले छोराको फोन आयो भन्दा उनले जेठो छोराले पो गरेछ भन्ने सोचिन् ।

तर त्यो फोन जेठो छोराको होइन १६ महिनादेखि हराएका कान्छो छोराको थियो । ‘म त जेठोले कि यति राति फोन गर्‍यो भनेको त कान्छाले गरेछ,’ छोरासँग बोल्न पाएको खुसी हुँदै निरमायाले भन्नुभयो, ‘मैले मेरो छोरासँग बोल्न पाएँ नि ।’

२०७० सालमा साउदी गएका नवलपरासीका ज्ञानबहादुरले २०७२ माघसम्म फोन गर्नु भएको थियो । त्यसपछि उहाँ परिवारसँग सम्पर्कविहिन हुनुभएको थियो । ज्ञानबहादुर साउदी जाँदा कान्छी छोरी पेटमै थिइन् । उनी तोते बोल्ने भएदेखि नै ज्ञानबहादुरले फोन कुरा गर्थे एक्कासी बाबा सम्पर्कविहिन भएपछि उनले बाबा खोजेर परिवारका सबैलाई रुवाउँथिन् ।

उ बाबा आयो, मेरो बाबा’ बाटोमा झोला बोकेर हिँड्ने लोग्ने मान्छे देख्ना साथ पछिपछि कुदिहाल्छिन उनी । जो देखेपनि बाबा भन्दै पछि लाग्ने नातिनीलाई फकाउन गाह्रो भएको छ ज्ञानबहादुरकी आमा निरमाया दराइलाई । ‘त्यो तिम्रो बाबा होइन, तिम्रो बाबा त भोलि आउँछ,’ निरमायाले यसो भन्दा उनी डाको छाडेर रुन्छिन तर पत्याउदिनन । रुँदारुँदै निदाउँछिन । बिहान भएपछि फेरि त्यस्तै गर्न थाल्छिन् ।

निरमायाले नातिनीलाई ‘तिम्रो बुवा भोलि आउँछ’ भन्दै कुराएको दुई वर्ष हुन लाग्यो । नातिनीलाई दिनैपिच्छे दिने झुठो आश्वासनले निरमायाको आफ्नै मन भने कुँडिरहन्थ्यो । छोराको फोन आएपछि उहाँलाई ठूलो राहत भएको छ ।

‘उसको बाउले फोनमा बोल्दा नाना र पापा ल्याउँछु है बाबाले भन्थ्यो । छोरीले त्यहि सम्झेर हैरान छ ।’ निरमायाले नातिनीका क्रियाकलाप सुनाउनुभयो । २०७० सालमा साउदी गएका ज्ञानबहादुरले २०७२ सालको माघदेखि घरमा फोन गर्नुभएको थिएन ।

निरमायासँग अन्तिम पटक फोनमा कुरा गर्दा ज्ञानबहादुरले दशैंमा आउँछु भनेका थिए । दसैँमा आउँछु भनेको छोरो सम्पर्क विहिन भएपछि निरमाया आत्तिनु भएको थियो । छोरीहरुसँग नबोली नसक्ने छोरो कसरी परिवर्तन भयो निरमायाले सोच्न सक्नुभएको थिएन् । तर छोराले फोनमा म जेल परेको थिएँ त्यसैले फोन नगरेको भनेपछि चाहिँ छोराले बिर्सिएको रहेनछ भन्नेमा उहाँ ढुक्क हुनुभएको छ ।

छोराले दसैँमा आउँछु आमा पीर नगर्नु भनेर रोएको कुरा सुनाउँदा निरमायाको पनि बोली रोकियो तर यस अघिको जस्तो दुःखले होइन खुसीले । ‘ऊ रोएपछि मैले पनि मन थाम्न सकिनँ त्यसैले म पनि रोएँ’ निरमायाले भन्नुभयो ।

धेरै ठाउँबाट खोज्दा पनि केही नलागेपछि निरमायाले नवलपरासी परासीमा रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको छ । सुचना केन्द्रले ज्ञानबहादुरको खोजीका लागि काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिती पिएनसिसीमा पठाएको थियो ।
पिएनसिसीले खोजी गरेपनि उनको कुनै पत्तो लाउन नसकिरहेका बेला उज्यालो अनलाइनमा खबर प्रकाशित भएको ११ घण्टामै फोन आएको हो । आफ्नो बारेको खबर फेसबुकमा देखेपछि फोन गरेको ज्ञानबहादुरले बताएका छन् ।

श्रीमानले १६ महिना अघि एक दिन राती फोन गर्दा शान्तिले किन राती फोन गरेको भनेकी थिइन् । त्यही दिनबाट श्रीमान सम्पर्कविहिन भएका थिए । त्यसैले शान्तिले मेरो कुराले रिसाएर पो फोन नगरेको होला भन्ने सोचेकी थिइन तर ज्ञानबहादुरले जेल परेकाले फोन नगरेको भनेपछि उनी पनि ढुक्क भएकी छिन् । – उज्यालोअनलाइनबाट

पूर्व प्रकाशित यो समाचार पनि हेर्नुहोस् -> साउदिमा हुनुभएको श्रीमानलाई ‘राती फोन नगर्नु’ भनेकी थिए, त्यसपछि उहाले १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन पनि उठाउनु हुन्न 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।