‘ओली कहिल्यै बेठिक थिएनन्’, कुलमान घिसिङलेनै गरिदिए यसरी पुष्टि !
काठमाण्डौ । नेकपा एमालेको तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरिरहँदा मुलुकमा एउटा महत्वपूर्ण विकास प्रक्रियाका बारेमा बहस छेडिएको थियो । प्रधानमन्त्री ओलीले मुलुकको विकासमा कायापलट ल्याउने हो भने पृथक ढंगले अब विकास योजनाहरु निर्माण हुनुपर्ने प्रस्ताव राखेका थिए । उनले नेपालमा रेलमार्ग सञ्चालनदेखि पानी जहाज सञ्चालन गर्ने सम्मका महत्वपूर्ण योजनाहरु अघि सार्दा कतिपय मानिसहरुले उक्त प्रस्तावलाई हावामा उडाउन पनि खोजियो ।

यति सम्मकि मुलुक विकासको योजनाकार हुँ भन्ने नेतादेखि योजनाकारहरुले पनि सो कुरालाई गम्भीरतापूर्वक लिएनन् । बरु एमालेलाई सिध्याउने तरिकाले विपक्षी पार्टीका नेता–कार्यकर्ताहरुको आडमा उनीहरु ओलीका विरुद्ध बोलिरहे । केपी ओलीले राखेको सो प्रस्ताव र योजनासँगै चीनले नेपालको राजधानी काठमाण्डौ र भगवान बुद्धको जन्मस्थललाई लक्षित गरी उत्तरी छिमेकी प्रान्त तिब्बतको सिगात्सेसम्म रेल छुटाएपछि सबै दंग खाए । चीनको एउटा कदमले ओलीको प्रस्तावलाई निकै बोल्ड बनाइदियो । त्यतिमात्र होइन, चीनले गरेको सो निर्णय लगत्तै भारतले पनि भगवान बुद्धको जन्मस्थलसम्म रेलमार्ग निर्माण घोषणा नै गर्यो ।
ओलीले नेपालले पनि पानी जहाज चलाउन सक्छ र यो प्रावधान विश्वका भूपरिवेष्ठित मुलुकको अधिकारसँग गाँसिएको छ भन्ने अर्को प्रस्ताव बाहिर ल्याए । सो विषयलाई उठान गर्दा पनि चौतर्फी आलोचनाका पात्र बने ओली । यतिसम्म कि आफुलाई विद्यावारिधि गर्ने नेपालीहरुमध्ये परमाधिपति जस्तै ठान्ने बाबुराम भट्टराईले समेत उनको खिल्ली उडाए ।
बाबुरामले समेत यति महत्वपूर्ण कुरालाई एमालेलाई सिध्याउने किसिमले बुझ पचाएको देखिएपछि लाखौं इमान्दार नेपालीहरुले अबचाहि यो देशमा विकास गर्ने नेताहरुको खडेरी परेछ भनेर त्यसबेला अड्कल काटेका थिए । तर ओलीका यी सबै प्रस्तावलाई मुलुकका अधिकांश जनताले साथ र सहयोग गरेका थिए ।
एमाले नरुचाउने विपक्षी पार्टीका नेता र कार्यकर्ता बाहेक तत्कालीन प्रधानमन्त्री ओलीले अघि सारेका विकासका एजेण्डलाई सबैले मन पराएका थिए । ओलीले उठाएका विकासका एजेण्डा कति गम्भीर थिए भन्ने कुराचाहि अहिले प्रमाणित हुँदै गएका छन् ।
कुलमानले गरिदिए केपी ओलीले ल्याएको योजना सही भएको पुष्टि !
भर्खरै मात्र मुलुकले पत्याएका एकजना सरकारी अधिकारीले केही वर्षअघि केपी ओलीले गरेको भविष्यवाणीलाई सत्य सावित हुनेगरी एउटा तथ्यपरक विषयको खुलासा गरिदिएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा पानी जहाज सञ्चालन हुनसक्ने सम्भावनाबारे एउटा नयाँ तथ्य खोलिदिएका हुन् । निर्देशक घिसिङले नेपालमा पानी जाहाज चलाउन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भैसकेको भन्दै उनले सो नयाँ तथ्य बाहिर ल्याइदिएका छन् ।
शनिबार रामेछाप–काठमाण्डौ पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको गुरुयोजनामा भारतको कलकत्ताबाट कोसी नदी हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने कुरा उल्लेख भएको उनले बताए । उनले यो योजना सम्पन्न गर्न सकिने समेत बताए ।
प्रबन्ध निर्देशक घिसिङले कोसी नदीबाट पानी जहाज चालाउन सकिने मात्रै नभई २५ हजार मेघावाट बिजुली निकाल्न समेत सकिने बताउँदै उक्त विद्युत क्षमताको समेत उपयोग नेपालले गर्न नसकेको बताए । घिसिङले सप्तकोसी, सुनकोसी, चतरा हुँदै दोलालघाटसम्मको जलविद्युत आयोजनाको विस्तृत अध्ययन हुनुपर्ने बताउँदै सुनकोसी १,२ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनले स्पष्ट पारे ।
यसरी तीन दशकअघिनै नेपालमा पानीजहाज चलाउन सकिने सम्भावनाको खोजिगरिरहेको भइसकेको तथ्य घिसिङले बाहिर ल्याइदिएपछि एमाले अध्यक्ष ओलीलाई खुइल्याउन खोज्ने माओवादी–कांग्रेसका नेता कार्यकर्ताहरु के सोच्दै होलान् ? यद्यपि, तत्कालीन प्रधानमन्त्री ओलीले त अझ् नेपालको स्वामित्वमा रहेका अर्थात खरिद गरिएका पानी जहाजहरु हिन्द महासागरहरुमा चलाउने र नेपालका लागि अत्यावश्यक सामाग्रीहरु ल्याउन सकिने बताएका थिए ।
उनले पृथ्वीमा रहेका महासागरहरुमा पानी जहाज चलाउने अधिकार भूपरिवेष्ठित मुलुकहरुलाई रहेको भन्ने कुराको पुष्टि गर्न खोजेका थिए । उनले महासागरहरुमा पानीजहाज चलाउने अभ्यासमा गएपछि कुलमानले भनेझै हाम्रा ठूला नदीहरुमा पनि आवश्यकता अनुसारका जहाज चलाउन सकिने कुरा गरेका थिए । जो आज आएर पुष्टि हुँदै गएको छ । कुलमानले यसलाई थप पुष्टि गरिदिएका छन् ।


