ट्राफिक जाम हटाउन गृहमन्त्री कम्मर कसेर लागे, अब काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चलाऊन नपाईने

काठमाडौं, २८ असार । ट्राफिक जामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । गृहमन्त्री जनार्दन शर्मा प्रभाकर काठमाडौंको ट्राफिक जाम हटाउन पूरै कम्मर कसेर लागेको स्रोतको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो निर्णय गरेको छ । निर्णयलाई बुधबारदेखि कार्यान्वयन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।

चक्रपथमै सवारी जामको उच्च समस्या भएकाले कलंकी, नारायणगोपाल चोक, गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्खो, सातदोबाटोलगायत क्षेत्रमा लामो समय जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले दिनचर्यामै प्रभाव परेको प्रवक्ता पाण्डेको भनाइ छ । चक्रपथभित्र ट्रक, टिप्पर र मिनिट्रक बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने व्यवस्था पनि कायमै राखिएको छ । ट्रक तथा टिप्पर व्यवसायी, यातायात व्यवसायीको सहमतिमै गरिएको निर्णय भएकाले कार्यान्वयनमा सहज हुने विश्वाससमेत विभागले लिएको छ ।

चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् ।

बुधबारदेखि बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा चल्न रोक लगाएकाले सवारी जाममा सुधार हुने विभागको भनाइ छ । अब २९ दशमलव दुई किलोमिटरको चक्रपथमा बिहान कार्यालय समय र बेलुकी कार्यालयबाट फर्कने बेला ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने विभागले जानकारी दिएको छ ।

बुधबारदेखि चक्रपथमा तोकिएको समयमा यी गाडी भित्रिए या सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ । यता, सवारी जामको मुख्य कारण बनेको लामो दूरी चल्ने बस कोटेश्वर हुँदै कलंकी घुम्ने गरेको पाइएको भन्दै १ साउनदेखि बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णयसमेत भएको छ । उपत्यकाको सवारी जामलाई व्यवस्थापनमा सुधार गर्न पुरानो बसपार्कबाट छुट्ने बस पनि सिधा आफ्नो रुटबाटै जानुपर्ने व्यवस्था सुरु गर्ने तयारी गरेको विभागको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।