अरू नगर पनि समेटेर जानुस् भन्दै ओलीले दिए विद्यासुन्दरलाई यस्तो सुझाव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकालाई आसपासका नगरहरुलाई पनि साथमा लिएर अगाडि बढ्न सुझाव दिएका छन्।

शुक्रबार सुरु भएको काठमाडौं महानगरकाे नगरसभामा प्रमुख अतिथि केपी शर्मा अोली, कामपाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सहभागीहरू। तस्बिर : अनिश रेग्मी/सेतोपाटी
शुक्रबार काठमाडौं महानगरको पहिलो नगरसभा उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले भने- वरिपरिका नगरको साथ लिनुहोस्। रथ तान्दा पनि भवगान् अर्को नगर घुमेर जान्छन्।’
ओलीले काठमाडौंको पर्यटन विकाससँग भक्तपुर र पाटनलाई पनि जोड्नुपर्ने बताए। उनले चन्द्रागिरिदेखि बुढानिलकण्ठसम्मलाई साथमा लिएर नेतृत्व महानगरले गर्नुपर्ने सुझाव दिए।
‘नगर विभाजन प्रशासनिक राजनीतिक हो। तर सहकार्य गरेर तपाँईहरूले काम गर्नुपर्छ।’
ओलीले विगतको महानगरपालिका र अहिलेको महानगरपालिकामा भिन्न रहेको बताए। अहिले स्थानीय सरकारको हैसियतमा रहेको महानगरपालिकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा गोष्ठी सेमिनार गरेर विज्ञको राय लिनु उचित हुने उनको ठम्याइ थियो। उनले काठमाडौं महानगरले पुर्ननिर्माणमा ध्यान दिनुपर्ने औँल्याए।
‘हाम्रो चाँगुनारायण मन्दिरले १८ सय वर्षदेखि पेरिस कसरी विकास भयो हेरिरहेको छ’, ओलीले भने, ‘चार अक्षरको पुर्ननिर्माण शब्द जति सजिलो छ गर्न सजिलो छैन।’
उनले जनताले विकासका आँखाले महानगरपालिकालाई हेरेको उल्लेख गर्दै भने- हामीले मौलिक प्रयोग गर्नुपर्ने अवस्था छ। अनि फेरि प्रयोग गरेर गल्ती गर्ने समय छैन। हामी सावधानी साथ अगाडि बढ्नुपर्छ।
स्थानीय तहलाई अहिले ५२ प्रतिशत अधिकार रहेको तर १५ प्रतिशत मात्र राजश्व उठाउने सुविधा रहेको ओलीले बताए। ‘विधेयकहरु आउँदा स्थानीय तहको अधिकार कटौती गरेर आउन सक्छन्। केन्द्रको हस्तक्षेप हुन सक्छ। हामी सहयोग गर्छौँ।’
उनले नयाँ आएका मेयर र उपमेयर तथा वडा अध्यक्षहरुमा भ्रष्टाचार गरौँला धन कमाउँला भन्ने चाहना आफूले नदेखेको बताए।
‘कांग्रेसलाई एमालेलाई उछिन्नु छ। अनि माओवादीलाई सँगै हिँड्न खोजिरहेको छ। यसले पनि विकासमा प्रतिष्पर्धा भएको छ’, ओलीले भने।
ओलीले नेपालले अब सबै क्षेत्रमा विकास गर्नुपर्ने बताए। अनि विकास गर्दा सबै क्षेत्रमा गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह। अनि आफ्नै शैलीमा उदाहरण दिदैँ हसाँए।
‘त्यो जाबो टेबल टेनिसमा पनि हामी अरुलाई जित्न सक्दैनौँ। त्यति सानो बल छ उचाल्न सक्दैनौँ भनौँ भने। यत्रो बलमा पनि हान्न नसक्ने भयो। विना अक्सिजन ८ घण्टामा हिमाल चढ्न सक्ने। हामी नभए अरु हिमालै चढ्न नसक्ने। अनि यत्रो बलमा हार्ने?’
विकासकै उदाहरण दिने क्रममा ओलीले बाटो चौडा हुने तर घरमा श्रीमानले श्रीमती कुट्ने अवस्था अन्त्य हुनुपर्ने बताए। ‘सडक चौडा र सफा तर दिमागमा फोहोर हुनु भएन’, ओलीले अभियान सञ्चालनका लागि सुझाव दिए।
उनले नेपालीलाई विदेशमा जाँदा ‘फर्कन्छ कि फर्कदैँन’ भनेर सोध्ने अवस्थाको अन्त्य हुनेगरि पर्यटनको विकास गर्न सुझाए।काठमाडौँलाई गतव्यको रुपमा विकास गर्न सुझाव दिए।
‘हामी पनि सोधौँ न । फर्कछौँ कि फर्कदैँनौँ भनेर। न हिमाल हेरेको हेर्यै पो हुने हो कि? न पहाड र छहरा देखेर यतै बस्न खोज्ने हुन् कि?’ अोलीले भने।
वैशाख ३१ गते भएको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य विजयी भएका थिए। काठमाडौँ महानगरका अधिकाशं वडामा समेत एमालेले जित हात पारेको छ। काठमाडौँ महानगरपालिकाले आज बजेट सार्वजनिक गर्दैछ।


