संविधान संशोधन विधेयक निर्णयार्थ पेस गरिने, प्रधानमन्त्री भन्छन्– पास फेल जे हुन्छ, निर्णयार्थ जान्छ
केन्द्र–प्रदेशको निर्वाचन एकैपटक
सरकारले व्यवस्थापिका संसद्मा पेस भएको संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने भएको छ । संविधान संशोधनको मागसहित आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधन चाहेको तर प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोधका कारण संसद्मा अड्किएको विधेयकलाई पास या फेल जे भए पनि निर्णयार्थ पेस गर्ने तयारीमा सरकार जुटेको हो ।
शनिबार साँझ सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भए पनि आफू विधेयक अघि बढाउने पक्षमा पुगेको बताएका हुन् । संशोधन एजेन्डा टुंगो नलागेसम्म राजपाले निर्वाचनमा सहभागिता नजनाउने बताएको भन्दै उनले राजपा नेतासँग समेत कुरा गरेर चाँडै विधेयकलाई टुंगो लगाइने बताए ।
प्रधानमन्त्री भन्छन्– पास फेल जे हुन्छ, निर्णयार्थ जान्छ
संविधान कार्यान्वयनको मूल एजेन्डासहित आफू प्रधानमन्त्री निर्वाचित भएको स्मरण गर्दै देउवाले आगामी ७ माघभित्र कुनै पनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएरै छाड्ने प्रतिबद्धतासमेत दोहो¥याएका छन् । राजधानी दैनिकमा खबर छ – त्यसका लागि आफू तत्काल निर्वाचन मिति घोषणा गर्न जुटेको भन्दै देउवाले निर्वाचन आयोगसँगको परामर्शपछि केही दिनभित्रै मिति तय हुने बताए ।
आगामी कात्तिक या मंसिरभित्र कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने पक्षमा आफू रहेको भन्दै देउवाले सकेसम्म दुवै निर्वाचन एकैपटक र एउटै मितिमा सम्पन्न गर्नेगरी गृहकार्य अघि बढाएको जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल एमालेसमेत दुवै निर्वाचन एकैपटक र एकै चरणमा गर्न सकारात्मक बनेपछि देउवाले निर्वाचन मिति घोषणाको गृहकार्य तीव्र बनाएका हुन् ।
‘निर्वाचन आयोगले केही प्राविधिक समस्या देखाएको छ, हामी फेरि छलफलमा बसेर सकेसम्म एकैपटक निर्वाचन गराउने पक्षमा छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘खर्च र समयका हिसाबले पनि अनुकूल हुने देखिन्छ, निर्णय भएको त छैन तर आयोगसँग बसेर यो कुरा टुंग्याउँछु ।’
हाल कायम २४० निर्वाचन क्षेत्रलाई आधार मानेर निर्वाचनमा जाने प्रसंग निर्वाचन गराउने प्रयोजनका लागि आफूले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी बैठकमा उठाए पनि अब यसको औचित्य सकिसकेको प्रधानमन्त्री देउवाले बताए । ‘हो, रामचन्द्र, केपीजीलगायत भएको ठाउँमा यो विषय उठेको हो, निर्वाचन गर्न विकल्प राखिएको पनि हो तर अब क्षेत्र निर्धारण आयोग बनिसक्यो आयोगले जे दिन्छ त्यसैअनुसार हुन्छ,’ देउवाले भने ।
देउवाले चिकित्सा शिक्षा सुधारको माग राखी अनसनरत त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीका माग पूरा गराउन सरकार गम्भीर भएर लागेको बताए । केही दिनभित्रै संसद्मा विचाराधीन चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गराउन आफू प्रतिबद्ध रहेको भन्दै उनले वार्तामार्फत तत्काल समस्या समाधान हुने प्रतिबद्धता जनाए । भोलिपर्सि (आइतबार–सोमबार) भित्रैमा अनशनको विषय टुंगो लाग्छ म आफैं लाग्या छु,’ देउवाले भने ।
उनले काठमाडौंको सडक विस्तारका क्रममा खनिएका खाल्डा पुर्ने कार्य सन्तोषजनक रूपमा भएको भन्दै उपत्यकालगायतको विकासमा अन्तरमन्त्रालय समन्वयमा समस्या रहेको बताए । ‘अन्तरमन्त्रालय समन्वयमा देखिएको समस्या विकासमा सबभन्दा बाधक देखियो यस विषयमा गम्भीर भएर योजना बनाउँदै छु, आवश्यक परेका कानुनसमेत संशोधन गरेर अघि बढ्ने विचारमा छु,’ देउवाले भने ।
आफू दुई छिमेकी मुलुक भारत र चीनबीच समान दूरीको सम्बन्ध हुनुपर्ने पक्षमा रहेको बताउँदै देउवाले चीनसँगको ओबीओआर सम्झौता र भारतसँग महाकाली सन्धिको डीपीआर बनाउने विषय सँगसँगै अघि बढ्ने बताए । भदौ दोस्रो साताबाट हुने आफ्नो भारत भ्रमणका बेला डीपीआरका विषयमा कुरा हुने र उत्तरी नाकाका अधिकांश सडक सञ्चालन गर्ने विषयमा चीनसँग पनि कुराकानी जारी राख्ने उनको भनाइ छ ।
राष्ट्रिय गौरवका आयोजना पूरा गर्न आफ्नो कार्यकालमा प्रयास गर्ने बताएका देउवाले मेलम्ची खानेपानी, नारायणगढ मुग्लिन सडक खण्डलगायतको निर्माणमा भएको ढिलाइबारे आयोजना स्थलमा आफैं पुगेर अनुगमन गर्ने तयारी गरेको समेत बताए ।



