इटहरीमा सात जनाको शव पानीमा भेटियो, मोरङमा दुई हजार परिवार विस्थापित, दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध

इटहरीमा सात जनाको शव पानीमा भेटियो

विराटनगर, २८ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।

भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०÷३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

मोरङमा दुई हजार परिवार विस्थापित, दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध

निरन्तररुपमा गएरातिदेखि बर्षा जारी रहेको कारणले मोरङमा अन्दाजी दुई हजार घर डुवानमा परेको छ ।बर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध भएको छ र विमानस्थलको सुरक्षागार्डको भवनमा समेत पानी पसेपछि कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।

विराटनगर महानगरपालिकाको १९ वटै वडाका अधिकांशको घरमा पानी पसेको छ । सोमध्ये, विराटनगरको ४, ५, ६, ११ र १२ नम्बरका वडा पूर्ण डुबानमा परेको र ती वडाबाट ६ सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यसका साथै विराटनगरको नोबेल अस्पतालभित्र पानी पसेको छ र नेपाल आयल निगमको पर्खाल भत्किएको छ । विराटनगर–२ मा सिंग्याही खोलाको पानी दर्जनौँ घरमा पसेका छन् विराटनगरका मुख्य सडकका साथै सहायक सडक खोलाको रुपमा परिणत भएको छ ।

सुन्दरहरैचाको ४ र ६ वडामा पर्ने पुलको पश्चिमपट्टिको भागलाई गछिया खोलाले कटान गरेपछि केही बेर आवागमन ठप्प भए पनि यतिखेर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यसका साथै बूढीगंगामा अन्दाजी ३५० घरपरिवार डुबानमा परेका छन् । बौंराहा टोलको १५० घर, मुडेरी टोलका १५० घर र दिपु टोलका ५० घर छन् । प्रहरीको टोली पीडितलाई उद्धार गरी सुरक्षित स्थानमा राख्ने कार्यमा जुटेका छन् ।

उर्लाबारी– ८ को माझीटोलमा बक्राहा नुनसरी खोलाले १५ घर र मिक्लाजुङको खाँबेझाडो गाउँको– ६ परिवारलाई डुबानमा पारेको छ, भने धनपालथानको ५,६ र ७ वडाका तीन सय परिवारको घर डुबानमा परेको छ । पीडित परिवारको उद्धार कार्यमा प्रहरी जुटेको छ ।

त्यसैगरी, रतुवामाई नगरपालिकाको ७, ८, ९ र ५ मा रतुवा र बक्राहा खोलाको पानी पसेपछि सात सय परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रहरी टोली यतिखेर जुटेका छन् । धनपालथान–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेको र रंगेलीको आमतोलामा चार घर डुबानमा परेको छ, भने एकराही र जामुनगाछिको मानव बस्तीमासमेत पानी पसेको छ ।

यसैबीच, गएरातिदेखि विराटनगरमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । नेपाल टेलिकमको इन्टरनेटसेवा बिहान ९ः३० बजेदेखि सुचारु भएको भए पनि मोबाइल र टेलिफोनको एसटिडी सेवा सुचारु हुनसकेको छैन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖