दबावपछि भारतले लक्ष्मणपुर बाँधको ढोका खोल्यो, कोशी व्यारेजको ५६ वटै ढोका खोल्ने तयारी
काठमाण्डौ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको आग्रह पछि भारतले बाँकेको लक्ष्मणपुर बाँधको ढोका खोलेको छ । परराष्ट्र मन्त्री महराले आफुले भारतलाई सबै बाँध खोल्न आग्रह गरेको र भर्खरै भारतले लक्ष्मणपुरको बाँध खोलेको जानकारी दिए । भारतले अन्तराष्ट्रिय सन्धी विपरित राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध वर्षातमा बाँधका ढोका बन्द गरिदिँदा बाँकेका दर्जन बढी गाविस डुब्छन् ।

यो समाचार तयार पार्दा सम्म राप्ती नदीमा आएको बाढीमा परी बाँकेमा तीन बालिकासहित चार जनाको मृत्यु भैसकेको छ । केही वेपत्ता छन् । बाढीमा फसेकाहरुको उद्दारका लागि सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर झिकाउने तयारी भएको छ । यद्यपि अधिकांश ठाउँ जलमग्न भएका कारण ल्याण्ड गर्ने ठाउँको समेत अभाव रहेकाले फसेकोहरुको उद्दार कठिन बनेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले डुङ्गाको सहायताबाट उद्दार कार्यमा जुटेका छन ।
भारतले अन्तराष्ट्रिय नियम विपरित सीमा क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण वर्षे्नि राप्ती नदी आसपासका गाउँ डुबानमा पर्दै आएका छन्। २०७१ साउन अन्तिम साता आएको बाढीले पनि बाँकेमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी पहिरोको क्रममा बिभिन्न जिल्लामा ३० जनाको निधन भइसकेको छ भने लाखौ मानिसहरु प्रभावित भएका छन् ।
यस्तै कोशीमा पानीको वहाव उच्च भएपछि सरकारले कोशी व्यारेजको ५६ वटै ढोका खोल्ने तयारी गरेको छ । परराष्ट्र मन्त्री महराले कोशी व्यारेजको सवै ढोका खोल्ने विषयमा भारतीय पक्षसँग कुराकानी गरेका छन् । कोशी व्यारेजको सवै ढोका खोलेपछि भारतको विहार राज्यका अधिकांश स्थान डुवानमा पर्ने भएकाले भारतले आवश्यक सतर्कता अपनाएर ढोका खोल्ने आश्वासन दिएको छ । अविरलको वर्षसँगै कोशी नदीमा पानीको वहाव उच्च हुँदा नेपाल तर्फ ठूलो जनधनको क्षति भएको छ । कोशी व्यारेजको ढोका खोल्न भारतसँग सहमति गर्नुपर्ने व्यवस्था छ ।
भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालका सीमावर्ती बाँधका ढोका खोल्न थालिएको बताए । राजदूत पुरीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरी सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी गराएका हुन । ‘उपप्रधानमन्त्रीले टेलिफोन गरी कोशी,गण्डकी र राप्तीसहित सीमावर्ती बाँधका ढोका खोलिदिन आग्रह गर्नु भएको थियो । एक घण्टापछि भारतीय राजदूतले टेलिफोन गरी सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी गराउनु भएको छ’ मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईले भने ।


