भारतले फेरी रोक्यो नेपाल आउने गाडी, सयौं मालबाहक ट्रक र कन्टेनर सिमामा अलपत्र (भिडियो सहित)

पथरी (मोरङ), २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् ।

भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ । सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन् । उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन् । स्थानीय नरेश यादवका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ र १० हजार घरपरिवार विस्थापित भएका छन् । उनका अनुसार सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नाकातर्फ आइरहेका मालबाहक गाडी सीमापारि ५०० कोे संख्यामा थन्किएर बसेको जानकारी दिनुभयो । यसबाट नेपालका आयातकर्ताले (विलम्ब शुल्क) तिर्नुपर्ने भएको छ । एक कन्टेनरले एक दिनको भारु पाँचहजार देखि छ हजार र मालबाहक ट्रकले भारु दुई हजारदेखि २५ सयसम्म विलम्ब शुल्क तिर्नुपर्ने अध्यक्ष परासरको भनाइ छ ।

साउन २८ गते शनिबारदेखि मालबाहक गाडी सीमापारि रोकिएका हुन् । बाढी र त्यसपछिको हडतालका कारण मालसामान भित्रन नपाएपछि विराटनगर भन्सारबाट हुने राजस्व संकलनमा असर पुगेको छ । दैनिक रु साढे सात करोडको हाराहारीमा राजस्व संकलन गरिरहेको कार्यालयले बिहीबार बेलुकासम्म रु ७५ लाखमात्र असुल गरेको छ । कार्यालयले साउन २८ गते रु चार लाख, साउन २९ गते रु एक लाख ८७ हजार, ३० गते रु ३९ लाख र ३१ गते रु ५३ लाख, भदौ १ मा रु ७४ लाख संकलन गरेको थियो ।

“यो राजस्व पनि पहिलेदेखि नै आएर थन्किएका मालसामान जाँचपास गरेर संकलन गरिएको हो”, भन्सार अधिकृत हेमन्त न्यौपानेले भन्नुभयो । उहाँका अनुसार साउन २८ गतेयता केही भित्रिएको छैन । विराटनगर भन्सारले चालु आर्थिक वर्षमा रु ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत दिलीप केसीको भनाइ छ । रासस

https://youtu.be/xq2QBVelPpI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖