एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य : दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन ‘ध्वस्त पार्न’ सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन्। एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले त्यसलाई नतोडे माओवादी आन्दोलन र पार्टीकै भविष्य जोखिममा पर्ने बताए।

एमालेको धारलाई भुत्ते पार्दै लैजाने र अन्ततः त्यसभित्रको एउटा धारलाई माओवादीकै छातामुनि ल्याउने कार्यनीतिअन्तर्गत कांग्रेससँग सहकार्य गरेको उनले बताए। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

‘एमालेमा अहिले राष्ट्रवादको नाममा दम्भ र अहंकार बढेको छ। त्यो अहंकार तोडिएन भने माओवादी आन्दोलन र हाम्रो पार्टीको भविष्य निकै अप्ठ्यारोमा पर्नेवाला छ,’ दाहालले पार्टीनिकट पत्रकारको भेलालाई सम्बोधन गर्दै भने, ‘एमालेले हामीलाई कमजोर पारेर मात्र आफ्नो भविष्य देख्न खोजेपछि हामीले ऊसँगको सहकार्य तोडेका हौं।’

संविधान निर्माणपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहेको माओवादीले गत वर्ष साउनमा एमालेसँग सहकार्य तोडेको थियो। ‘एमाले हामीलाई कर्नरमा पार्न चाहन्छ। लेफ्ट-लेफ्ट एउटै तरबारमा हिँड्न सक्दैनन्, त्यसकारण ओलीजीलाई कमल थापा, विजय गच्छदार अति प्रिय लाग्छन्’, उनले भने, ‘एमाले माओवादीलाई जताबाट भए पनि सिध्याउन चाहन्छ। त्यसको प्रतिवाद नगरी माओवादी आन्दोलनको भविष्य सुरक्षित हुँदैन।’ दुई वामपन्थी पार्टी समानान्तर रूपमा रहन नसक्ने दाबी गर्दै उनले भने, ‘अहिले एमालेले हामीलाई डाइजेस्ट गर्न खोजेको छ।’

दाहालले माओवादीलाई सिध्याउनकै लागि एमाले नेतृत्वले आफ्नो पार्टीभित्रकै शीर्ष नेतालाई उचाल्ने र कमजोर बनाई माओवादीलाई फाइदा हुनै नदिनेसम्मका काम गरेको आरोप लगाए। ‘खासमा एमाले माओवादीलाई अलग-अलग फुटाएर एउटा समूहलाई नजिक ल्याउन चाहन्छ,’ दाहालले भने।

ओली नेतृत्वको सरकारसँग सम्बन्धविच्छेद गर्न एमालेकै नेताहरूको साथ रहेको दाबीसमेत उनले गरे। ‘केपी ओलीलाई छाडेर म प्रधानमन्त्री बन्ने कुरा हाम्रो बलले मात्र सम्भव भएको होइन। एमालेभित्रको एउटा धारले सहयोग गरेका कारण सम्भव भएको हो,’ उनले भने, ‘मलाई लगातार उहाँहरूले तपाईं छाड्नुहोस्, केपी ओलीजस्तो मान्छेलाई किन प्रधानमन्त्री बनाइरहनुभएको छ भनिरहनुभयो। अहिले पनि केपीलाई फाइदा हुने गरी केही नहोस् भन्ने चाहना राख्ने नेता एमालेभित्र छन्। त्यो पक्षलाई बढावा दिँदा मात्र हामीलाई फाइदा हुन्छ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖