‘नागरिक प्रहरी मिली तोडौ अपराधको जालो…’ भन्ने नाराको साथ मनाईयो धनकुटामा ६२ औ प्रहरी दिवस
धनकुटा खबर । ६२ औ प्रहरी दिवस धनकुटामा आज मनाईएको छ । नागरिक प्रहरी मिली तोडौ अपराधको जालो, सुरक्षित समाज वनाउन गरौँ हाते मालो भन्ने नारा सहित प्रहरी दिवस विशेष कार्यक्रमको आयोजना गरि ६२ औ प्रहरी दिवस मनाईएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी दिवसको अवसरमा प्रहरी सेवामा रहेर वर्ष भरि उत्कृष्ठ कार्य गर्ने एक दर्जन भन्दा वढि प्रहरीलाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको परिसरमा आयोजित कार्यक्रममा दुई जना सई,दुई जना असई,५ जना हवल्दार र चार जना प्रहरी जवान गरि १३ जनालाई नगद सहित पुरस्कृत गरिएको छ ।
पुरस्कृत व्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती,जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख वंगला राई,धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदिप राजभण्डारी,डिएसपी धनप्रसाद शिवाकोटी लगायतले नगद पुरस्कार प्रदान गर्नुभएको थियो । यसैगरि दुई अमरप्रहरी परिवारका सदस्यलाई खाँदा लगाएर सम्मान गरिएको छ ।
सो अवसरमा वोल्नुहुदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले प्रहरीले दिने सेवालाई प्रभावकारी वनाउन सवैको साथसहयोगको खाचोँ रहेको वताउनुभयो । प्रहरी दिवस विशेष कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनितिक दल,सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रनितिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक अन्जन कोईरालाले गर्नुभएको थियो ।


