मूल्य गिरावटले अदुवा किसान र ब्यापारी समस्यामा
धनकुटा खबर । प्रमुख नगदे बालीको रुपमा रहेको अदुवाको मूल्य गिरावट आएपछि धनकुटाका किसान र ब्यपारीहरु समस्यामा परेका छन् ।
जिवजन्तुले नखाने बिना पानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानहरुले यसलाई प्रमुख नगदेबालीका रुपमा खेती गर्ने गरेका छन् ।
यसरी ३ बर्ष यता आएको मूल्य गिरावटले सबैभन्दा बढी किसान प्रभावित भएका छन् । आन्तरीक बजारको सिमित खपत पछि मूख्य बजार रहेको भारतले अदुवाको गुणस्तर नभएको भनेर लान नमानेपछि किसान संगै ब्यपारीहरु पनि प्रभावित भएको उनीहरुले बताएका छन् ।
२०५८ सालबाट अदुवा खेती गर्दै आएका खाल्सा छिन्ताङ्ग शहिद भूमी गाउँपालिका ६ थलथलेका हुकम चन्द्र राईले अदुवाको मूल्यमा आएको परिवर्तनका कारण अहिले ५ रोपनीमा मात्र खेती गरिरहेका छन् ।
अदुवा खेतीलाई मुख्य पेशाका रुपमा अंगाल्ने सोंचमा ३० रोपनीबाट खेती शुरु गरेका ४५ बर्षिया राईले कहिले बजार नपाउने र कहिले मूल्य नपाएर हाल थोरै खेती गरिरहेको बताए ।
कुनै बेला बार्षिक ६ हजार केजी अदुवा बेच्दा १ लाख ५० हजार कमाएका राईले पछिल्लो समय ३ बर्ष अघि प्रति केजी १ सय ५१ हुंदा मात्र ३ हजार केजी बेचेर बार्षि ४ लाख पनि कमाए ।

तर त्यस पछिका बर्षहरुमा भने अदुवाको मूल्य गिरावट आएर १० बर्ष अघिको मूल्यमा झरेपछि अदुवा खेतीको भबिष्य नदेखेको राईले बताए ।
‘खै यस्तो अबस्था देख्दा अब कसरी गर्ने ?’उनले भने,‘अदुवा बेचेर आफ्नो मेहनेत र खेतालालाई दिएको पैसा नै उठ्न गारो पारेको छ ।’
सहज ढुवानी भएका किसानहरुले प्रति केजी अदुवा २५ रुपैंया सम्म र दुर्गममा १८ रुपैंया सम्म मूल्य रहेको उक्त क्षेत्रमा अदुवा समेत बिक्न छाडेको राईको भनाई छ ।
अदुवाको मूल्य गिरावटका कारण परम्परागत रुपमा बर्षौ देखि अदुवा रोप्दै आएका उक्त क्षेत्रका सयौ किसानहरु प्रभावित भएको र उक्त पेशा छाडेर टमाटर खेती तर्फ लागेको राईले जानकारी दिए ।
उता साँगुरीगढी गाउँपालिका ७ महाभारत डाँडा टोलका ४५ बर्षिया नारायण राईलाई पनि अदुवा खेती गर्न जाँगर मरेर आएको छ ।
तीन बर्ष अघि उनले पनि ५ रोपनी जमिनमा लगाएको अदुवा बेचेर ३ लाख कमाएका थिए । त्यपछि मूल्य घटेर २५ रुपैंयामा झरेपछि गएको बर्ष खेतालाको पैसा मात्र दिन पुगेपछि उनले अदुवा नै नबेची बिउ राखे ।
यस बर्ष पनि उनले ५ रोपनीमा ६ सय केजी अदुवा अगाएका छन् । अहिले पनि मूल्य गिरावटका कारण ब्यपारीहरु २० रुपैंयाले अदुवा लाने भनेपनि किनबेच नभएको उनले बताए ।
निरास हुंदै राई भन्छन्–‘पहिला चामल किनेर खान पुग्थियो,यो पल्ट त नुनतेल खान नि पुग्दैन होला !’
यो पटक २० रुपैंयाले अदुवा बिक्री भए ८० हजार जति कमाई भएपनि खेतालालाई दिएको पैसा दिएर आफ्नो पारिश्रमिक उठ्ने आशा उनको छ ।‘२० रुपेमा पनि पो लान मानेका छैनन् त’–राईले भने ।
मूल्य गिरावटका कारण अदुवा खेतीमा निर्भर उक्त गाउँका ७६ घर र सम्पूर्ण भहाभारत क्षेत्रका किसानहरु प्रभावित भएको सोहि गाउँका बर्ष ३२ का रमेश राईले जानकारी दिए ।
त्यस्तै उता शिक्षक पेशा छाडेर कृषि पेशामा लागेका चौबिसे गाउँपालिका स्थित बुढिमोरङ्ग गाउँका ३५ बर्षिया ठाकुरमान लिम्बु पनि अदुवाको मूल्य गिरावटका कारण निरास छन् ।
नेपाली साहित्यमा डिग्री गरेर कृषिमा लागेको उनले टमाटर,खुर्सानी,बाख्र पालन र अदुवा खेतीबाट बार्षिक १५ लाख भन्दा बढी कमाउने गरेका छन् ।
तीन बर्ष अघि सम्म १० रोपनीमा लगाएको अदुवा प्रति कजी ९० रुपैंयाले ७ हजार केजी बेचेर ६ लाख कमाएको उनले यो बर्ष भने बिउ जगाउन मात्र २ रोपनीमा अदुवा लगाएको बताए ।

लगातार मूल्य गिरावटले मजदुरलाई दिने पैसा पनि नउठेकोले मूल्य बृद्धिको आशामा उनले बिउको लागि मात्र अदुवा रोपेको बताए ।
२०४८ सालबाट अदुवा खेती गर्दै आएका उनले भने–‘अब अदुवाको दिन आउला जस्तो छैन ।’
मूल्य गिरावटका कारण कुनै बेला अदुवाको पकेट क्षेत्रको रुपमा रहेको उक्त गाउँका करीव ३ सय घरधुरी प्रभावित भएको लिम्बुले बताए ।
त्यस्तै धनकुटा नगरपालिका वारी पात्लेका अगुवा कृषक कृष्ण कार्कीले पनि मूल्यमा कमि आएपछि १३ रोपनी खेतीबाट हाल आधा रोपनी जमिनमा बिउ जोगाएर बसेको बताए ।
२०७१ सालमा ९० रुपैंया सम्म अदुवाको मुल्य हुंदा उनले २२ हजार केजी (२२ क्वीनटन)अदुवा रोपेर २९ लाख ७० हजार को अदुवा बेचेका थिए ।
उक्त समयमा उनले ३० क्वीनटन भन्दा बढी अदुवा बेचेर १५ लाख भन्दा बढी कमाई गर्ने गरेका थिए ।
तर त्यसपछिका बर्ष सम्म प्रति केजी २० रुपैंयामा पनि नबिकेपछि मजदुरको ज्याला र आफ्नो श्रम नउठेपछि उक्त गाउँ र आसपासका ७५ भन्दा बढी किसान परिवार प्रभावित भएको उनले जानकारी दिए ।
उनले भने–‘अदुवाले भाउ फेरी आउला नि भनेर बिउ जोगाएर बसेका छौ ।’
बजार मूल्य नहुने र भारतीय ब्यपारीहरुले समेत अदुवा लान नमानेपछि आफूले यो बर्षबाट अदुवा ब्यपार नै नगर्ने सोंचमा रहेको छिन्ताङ्गका ब्यपारी मातृका राई बताउँछन् ।
खाल्सा छिन्ताङ्ग सहिदभूमि र पाख्रिबास नगरपालिका क्षेत्रमा उत्पादन भएको अदुवा ब्यापार गरेर उनले बार्षि ८ लाख सम्म कारोबार गर्ने गर्दर्थे ।
तर पछिल्लो समय भारतिय ब्यपारीहरुले बिभिन्न कारण देखाएर अदुवा नलगेपछि ब्यापार छाड्ने निर्णयमा पुगेको बताए ।
‘पाटीले माल नलगेर घाटा भएपछि काम छाड्नुपर्ने बाध्यतता आयो’–उनले धनकुटा खबरलाई भने ।
त्यस्तै धनकुटाको हिलेका ब्यपारी लिकुमार राईले भारतीय ब्यपारीलाई ७० टन अदुवा बेचेर ९ लाख कमाएका थिए ।
तर यो पटक पुरानो ६० टन माउ अदुवा कुहिएको भनेर भारतिय ब्यपारीले पैसा नलिंदा ११ लाख घाटा भएको बताए ।
त्यसका साथै अदुवाको मूल्य घटबढ हुंदा ब्यापार जोखिम अत्याधिक भएको राईले बताए । राईका अनुसार भारतले अदुवाको गुणस्तर परीक्षणमा एकद्वार प्रणाली लागु गरेपछि पहिलाको जस्तो अदुवा भारत निकासी गर्न सहज नभएको बताए ।
‘अदुवाको गुणस्तर परीक्षण गर्न दिल्ली जानुपर्छ’ उनले भने– ‘त्यो बेला सम्म अदुवा कुहिएर बिग्रने जोखि धेरै हुन्छ ।’
त्यसका साथै नेपाली अदुवा माटो,जरा लगाएत सरसफाई नगरी भारतीय बजारमा गएकाले पनि पछिल्लो समयमा भारतले अदुवा लान नमान्दा नेपालका अदुवा ब्यपार संगै किसानहरु पनि प्रभावित भएको राईको भनाई छ ।
मूल्य गिरावटका कारण धनकुटाको अदुवा उत्पादन र निकासी प्रभावित भएको जिल्ला कृषि कार्यालयको तथ्यांकले पनि पुष्टि गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार आव ०७१÷०७२ मा २ सय ५० हेक्टरमा अदुवा खेती भएको थियो । यस आवमा उत्पादन भएको ३ हजार ६ सय ९७ मेट्रिक टन अदुवा मध्ये धनकुटाबाट १४ करोड ४८ लाख बराबरको ३ हजार ५ सय १२ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी भएको थियो ।
उक्त बर्ष जिल्लामा अलुवाको मूल्य ९० रुपैंया देखि १ सय ५० सम्म थियो । यहि मूल्यका कारण अदुवा खेती बढेर गत आव ०७२÷०७३ मा धनकुटामा २ सय ५५ हेक्टरमा अदुवा खेती भएको थियो ।
उक्त आवमा मूल्यमा गिरावट आएपनि उत्पादन बढी भएकोले उत्पादन भएको ४ हजार ६६ मेट्रिक टन मध्ये १४ करोड ६३ लाख ६० हजार बराबरको ३ हजार ६ सय ५९ मेट्रिक टन अदुवा निकासी भएको थियो ।
अघिल्लो बर्षको अनुपातमा य बर्ष कम निकासी भएकोले यस बर्ष धनकुटाका किसानहरुले मूल्यको पर्खाईमा आधा टन भन्दा बढी अदुवा नबेचेर बिउ राखेको अनुमान गर्न सकिन्छ ।
तर यो बर्ष पनि मूल्य बृद्धि नभएपछि चालु आर्थिक बर्ष धनकुटामा भने धनकुटामा अदुवा खेती घटेर २ सय ३५ हेक्टरमा मात्र खेती भएको छ ।
उत्पादित ४ हजार ३ सय ३ मेट्रिक टन मध्ये असार मसान्त सम्म ८ करोड ८० लाख बराबरको ३ हजार ५ सय २० मेट्रिक टन पुरानो माउ अदुवा अदुवा निकासी भएको छ ।
अदुवाको फल दुईपटक निकाल्ने गरिन्छ । पहिलो रोपेको माउ र दोस्रो पटक नयां फल । अत यो १ पटकको निकासी अघिल्लो बर्षको २ बाली अदुवा भन्दा बढी हो ।
यस नतिजाले अदुवाको मूल्य अब कम हुंदै जाने भएकोले यो बर्ष देखि सबैले बिउ समेत नराखि बेच्ने थालेकाले अघिल्लो बर्ष भन्दा निकासी बढी देखिएको कार्यालयका बाली संरक्षण अधिकृत सूर्य प्रसाद साप्कोटाले बताए ।
उनले भने ‘उत्पादन क्षेत्रफल कम भएपनि नयां अदुवा संगै थप निकासी बढी देखिनुले अब किसानले क्रमश अदुवा नरोप्ने सम्भावना देखिन्छ ।’
१ लाख ६३ हजार ४ सय १२ जनसंख्या भएको धनकुटामा ६८ हजार घर परिवार कृषिमा आवद्ध रहेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।
अदुवा बाली अन्यबाली भन्दा सर्वाधिक सुरक्षित र एक पटक रोपेर २ पटक आम्दानी लिन सकिने भएकाले धनकुटाका हरेक किसानहरुले धेरथोर यसको खेती गर्ने गर्दछन् ।
यसर्थ किसानहरुको प्रमुख बालीको रुपमा रहेको अदुवा खेती,ब्यपार सुधार गरेर अदुवा मा नै आधारीत उद्योग समेत सन्चालन गर्न सकिने प्रचुर सम्भावना छ ।
बार्षिक ४ अर्ब भन्दा बढीको तरकारी र मसला निर्यात् हुने धनकुटामा अदुवाको खेतीले महत्वूर्ण स्थान ओगटेको छ ।
यसको उत्पादनले कृषि क्षेत्रबाट देशको कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा समेत बिशेष योगदान पु¥याउने हुंदा अदुवा खेती र ब्यापार सुधारका लागि सरोकारवालाहरुको ध्यान जान अत्यन्त जरुरी छ ।
तस्वीर : महाभारत ७ का नारायण राई आफ्नो बारीमा रोपेको अदुवा देखाउँदै र धनकुटा नगरपालिकाको निगालेमा अदुवा खन्दै महिलाहरु ।


