धनकुटाको हिलेमा कर सम्वन्धि समसामयीक विषयमा छलफल
धनकुटा खबर । छैटौ राष्टिय कर दिवसको अवसरमा सञ्चालित सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज धनकुटाको हिलेमा कर सम्वन्धि समसामयीक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
आन्तरिक राजश्व कार्यलय धरान र करदाता सेवा कार्यलय धनकुटाको संयुक्त आयोजना तथा उद्योग वाणिज्य संघ धनकुटाको सहयोगमा सञ्चालित अन्तरक्रियामा आय कर, मूल्य अभिवृद्धी कर र मदिरा तथा सूर्तिजन्य वस्तुको कारोवार सम्वन्धमा भएका व्यवस्थाहरुको विषयमा छलफल गरिएको छ ।

आन्तरिक राजश्व कार्यलय धरानका कर अधिकृत देव नारायण पौडेलको अध्यक्षता तथा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा आयकर र मूल्य अभिवृद्धीकरको वारेमा कर सेवा कार्यलय धनकुटाका प्रमुख नरेन्द्र कुमार कार्कीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
जसअनुसार व्यक्ति वा कुनै पनि निकायले आर्जन गरेको आयमा लाग्ने कर नै आय कर भएको उहाँले जानकारी गराउनुभयो । यस्तो कर सरकारले प्राकृतीक र कानुनी व्यक्तिवाट असुल गर्ने गर्दछ ।
त्यस्तै मूल्य अभिवृद्धी कर लाग्ने वस्तु तथा सेवाको मूल्य वृद्धीको प्रत्येक तहमा लाग्ने कर नै मूल्य अभिवृद्धी कर रहेको उहाँले वताउनुभयो । मूल्य अभिवृद्धीकर लाग्ने वस्तुको हकमा वार्षिक ५० लाख भन्दा वढीको कारोवार गर्ने करदाता वा वस्तु तथा सेवाको मिश्रित कारोवार गर्नेले वार्षिक २० लाख भन्दा वढीको कारोवार गर्ने करदाताले मूल्य अभिवृद्धी करमा दर्ता गर्नु पर्ने पनि उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरे सहित वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरे र यहाँका उद्यायोगी व्यवसायीहरुको उपस्थिती थियो ।


