चमत्कारी कृषक चन्द्रलाल !

धनकुटा खबर । तरकारी खेती पछि क्रमशः चिया,अलैची,अमृसो,किवी र दुधका लागि पशुपालनमा लागेका धनकुटा भीरगाउँका अगुवा कृषक चन्द्रलाल तामाङ्ग सबै किसानहरुका लागि एक प्रेरक उदाहरण हुन् ।

२०७२ सालमा चिया र अलैची खेतीमा राष्ट्रपति पुरस्कार जितेर धनकुटाको नाम उच्च राखेका ५० बर्षिया तामाङ्ग राज्यको सहयोग बिना पनि सफल हुन सिकाउने एक उदाहरण कृषक हुन् ।

जिल्लाका हरेक किसानलाई एउटा न एउटा समस्या छ तर बहु आयामिक कृषि पेशा गरिरहेका चन्द्रलाललाई त्यसको कुनै प्रवाह छैन । प्रवाह छ त केवल समय अनुसार कृषि उपज उत्पादनको ।

जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार जिल्लाबाट अलैची र अदुवा सहित बार्षिक ४ अर्ब भन्दा बढीको कृषि उपज निर्यात हुन्छ ।

पशु सेवा कार्यालयको तथ्यांक अनुसार धनकुटामा बार्षिक उत्पादन हुने ५२ करोड भन्दा बढीको दुध मध्ये आधा भन्दा बढी दुध जिल्ला बाहिर निकासी हुने गरेको छ ।

त्यस्तै चिया कफी बोर्ड हिलेका अनुसार धनकुटाबाट बार्षिक ३० लाख भन्दा बढीको तयारी चिया जिल्लाबाहिर निकासी हुने गरेको छ ।

यी सबै उत्पादनहरु जिल्ला र नेपालमा खपत हुने अबस्था छैन । यसको प्रमु बजार भारत र तेस्रो मुलुक हो । तर भारत सब्जी लान गुणस्तर प्रमाणित गर्ने क्वारेन्टाईन छैन । चिया,अलैची र अदुवाको नेपाली जात छैन ।

सबै चीन र भारतको नाममा नेपाल बाहिर जानुपर्ने बाध्यता छ । यो बाध्यताका कारण भारतले ती बस्तुहरुमा रोक लगाउँदा वा मूल्यमा एकलौटि निर्धारण गरिदिंदा नेपालका किसानहरु आफ्ना उत्पादनहरुलाई फ्याक्नुपर्ने अबस्था छ ।

कयौ किसान र त्यस संग सम्बन्धित ब्यपारीहरु यतिबेला अदुवा,अलैची,चिया लगाएतका कृषि उपजहरु नबिक्दा करोडपतिबाट सडकपति जस्तै हुनुपरेको अबस्था छ ।

तर समयको मागलाई अध्ययन गरेर कृषि क्षेत्रमा लाग्ने गरेका कृषक चन्द्रलाललाई भने आफ्नो पेशामा कुनै तनाव छैन ।

सरकारले कृषि क्षेत्रका बिकराल समस्या समधान नगर्ने देखेर उनले आफ्नै कृषि उत्पादनको योजना र रणनीति बनाएर अगाडि बढेका छन् ।

फल स्वरुप हरेक योजनामा सफल हुंदै गएर हाल उनी दुधका लागि गाई र भैसी पादनमा लागेका छन् ।

२०४३ सालमा १० रोपनी सब्जी खेतीबाट कृषि पेशामा लागेर कृषि पेशाबाटै हाल १ सय ७६ रोपनी जोडेर त्यसमा जमिनमा सब्जी,अम्रिसो,किवी,अलैची,चिया लगाएका छन् ।

–बार्षिक ८ देखि ११ लाख सम्म कमाईरहेका तामाङ्गले पछिल्लो समयमा गाई तथा भैसीपालनबाट कृषि पेशामा गति लिने तयारीमा छन् ।

उनले राखेको बार्षिक कमाईको तथ्यांक अनुसार तामाङ्गले २०७० सालमा ८ लाख,०७१ मा ९ लाख ७५ हजार,०७२ मा ६० लाख,०७३ मा ११ लाख र ०७४ मा १० लाख ५५ हजार कमाएका थिए ।

हाल धनकुटा २ भीरगाउँका निर्वाचित वडा अध्यक्ष समेत रहेका उनी यसरी कमाई गर्ने अबस्थामा त्यसै आईपुगेका हैनन् ।

कुनै पनि काम गर्नुभन्दा पहिला कृषि क्षेत्रको सम्भावना,चुनौति र अबसरको बारेमा बिचार तथा बिश्लेशण गरेर आफू अगाडि बढेकोले आफूले सफलता पाएको बताउँछन् ।

उनले २०४५ सालमा बन्दागोभी नबिकेर बारीमा कुहिए पछि पुनः कसैले बन्दा नलगाएको सन्दर्भ सम्झदै अगाडि भन्छन्–‘कसैले नलगाए पछि माग धेरै हुंदा त्यो बेला मैले धरान लगेर २० रुपैंयामा बेंचे ।’
पहिला प्रति केजी २ रुपैंयामा नबिकेको बन्दा मूल्य बृद्धि संगै आफूले १० रोपनीमा लगाएको बन्दाबाट त्यो समयमा उनले ७ लाख नाफा कमाएका थिए ।

‘घाटा उक्सिएको त्यो दिन मेरो लागि बरदान जस्तै भएको थियो ।’–उनले भने ।

त्यति मात्र हैन पूर्वी पहाडि जिल्लामा रोगका कारण अलैचीको बगान सखाप भएपछि यसको ब्यपारीक सम्भावना देखिर २०७२ सालमा उनले पहिलो पटक अलैची बिरुवाको नसरी राखेका थिए ।

नभन्दै तामाङ्गले उक्त समयमा जिल्लाको एकल नर्सरी भएकाले ६० लाख बरावरको ८ लाख बेर्ना बेचेर नाफा मात्र ५२ लाख कमाएका थिए ।

तर पुनः सबैले बिरुवा लगाउँदै जाने भएकाले बिरुवा नबिक्ने सम्भावनाको आँकलन गरेर हालका बर्षहरुमा भने उनले सामान्य आफूले लगाउन मात्र बिरुवा राखेका छन् ।

जो अहिले धनकुटाका कृषकहरुको अलैचीको बिरुवा नबिकेर नर्सरीमा नै हुर्किएबाट प्रमाणित पनि छ ।

यसरी आउने समयमा कुन कृषि उपजको माग छ भन्ने अध्ययन गरेर कृषि पेशा गर्ने तामाङ्गले कृषि पेशाबाट पैसा कमाएर साबिक भीरगाउँमा त्यसै जंगलका रुपमा रहेका जमिनहरु किन्न शुरु गरे ।

फल स्वरुप उनले कृषि पेशाबाट कमाएर २०४३ सालमा ५० रोनी जमिन किनेर अलैची,२०४५ सालमा ६० रोपनी किनेर चिया,२०४६ सालमा ५० रोपनी किनेर अमृसो,२०७० सालमा ६ रोपनी किनेर किवी खेती शुरु गरे ।

त्यो बेला सडक र अन्य सुबिधा नभएकाले तामाङ्गले प्रति रोपनी ५ हजारका दरले किनेका थिए । तर आज उक्त स्थानहरुमा कृषि सडक,बिजुलीबत्ति,खानेपानी लगाएतका सुबिधा पुगेपछि जमिनबाट मात्र तामाङ्ग करोडपति भएका छन् ।

सबै कृषि उपजहरुको मूल्य तथा ब्यपारमा अस्थिरता र समस्या देखेपछि उक्त उत्पादनहरुलाई निरन्तर राख्दै आफूले लगाएको अमृसोको घाँस तह लगाउन २०७० साल तामाङ्गले गाई÷भैसी फर्म सन्चालनमा लागेका छन् ।

चन्द्रलाल यो अबस्थामा आईपुग्नुमा सब्जी र अलैची खेतीबाट हुने आम्दिानीको बिशेष योगदान रहेको छ ।

पछिल्लो समयमा चिया खेतीमा आएको समस्याका कारण उनले चियाको स्थानमा घाँस खेती गरेर देखि १५ लाखको लागतमा दुधका लागि फर्म सन्चालनमा लागेको बताए ।

‘अहिले कृषि क्षेत्रमा सबै भन्दा राम्रो सम्भावना दुध र दुग्ध जन्य ब्यसायमा छ ।’उनले भने–‘त्यसैले मैले यो क्षेत्रमा हात लगाएको हुं ।’

हाल ७ वटा भैसी र ४ गाई पालेका तामाङ्गले दैनिक औषतमा ५० लिटर दुध बेच्न शुरु गरेको बताए । खर्च कटाएर मासिक ३० हजार कमाई गरिरहेका उनले २०७५ साल सम्म २० वटा दुध दिने गाई तथा भैसी पु¥याउने बताए ।

उनले भने–‘त्यसपछिको आम्दानीलाई हेरेर अगाडि बढ्ने योजना बनाउने योजनामा छु ।’
त्यसमा पनि बिशेष गरेर भैसी पाल्ने उनको योजना छ ।

गाईले बाछि पाए माउ पालेर दुधको लागि काम लागे पनि उन्नत जातका गाईबाट जन्मेको गोरु जोत्न काम नदिने भएकोले भैसी पाल्ने उनको लक्ष छ ।

भैसी पाल्दा पाडी दुधका लागि र राँगा मासुको लागि प्रयोगमा आउने भएकाले गाई भन्दा भैसी पाल्न निकै फाईदा भएको उनकोे सोंच छ ।

यो बर्ष दुधबाट ३ लाख ५० हजार भन्दा बढी र अन्य कृषि उपज गरी ११ लाख भन्दा बढी कमाउने तामाङ्गले बताए ।

हाल धनकुटामा गाई र भैसी गरी १ सय ५१ फर्म दर्ता भएर सन्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय धनकुटाको तथ्यांक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।