अपांग युवतीलाई लखेटी–लखेटी सामुहिक बलात्कार !, प्रहरी भन्छ- कुटपिटको घटना (भिडियो सहित)
धनकुटा खबर । धनकुटामा गएको शुक्रबार एक अपांगता भएकी युवती सामुहिक बलात्कारको शिकार भएकी छिन् । जिल्लाको पाख्रीबास नगरपालिका स्थित एक गाउँकी बोल्न नसक्ने अपांगता भएकी ३० बर्षिया तामाङ्ग थरकी यूवती बलात्कृत भएकी हुन् ।
शुक्रबार राती गाउँकै आफन्तहरु टेके तामाङ्ग र भाईजा तामाङ्गले आफ्नी छोरीलाई बलात्कार गरेको पीडितकी ६० बर्षिया आमाले बताईन् ।
उनले पाख्रिबास नगरपालिका प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएपनि आफूहरुलाई आईतबार जबरजस्ति मिलाए घर पठाएको पिडितकी आमाले बताईन् ।
आफूहरुलाई एक्लो बनाएर जबरजस्ति मिलाएकोले पिंडककी आमाले फेरी कारवाहीको माग गरिन् ।
‘खेदी–खेदी मेरो छोरीलाई जसरी नराम्रो गरे त्यस्तै कारवाही होस् भन्छु म’–उनले भनिन् ।
टेके करिव १७ बर्षको अबिवाहित र भाईजा ४ सन्तानको बुवा भएको उनले जानकारी दिईन् ।
आफन्तकोमा गएर आउने क्रममा एक्लै भएपछि छोरीलाई टर्चलाईट लिएर आउन खबर गरेको र छोरीले लाईट लिएर आउने क्रममा उनी बलात्कारमा परेको तामाङ्गले बताईन् ।
यस बिषयमा उक्त क्षेत्रबाट जिल्ला समन्वय समितिका आयुष्मा गहतराजले जिल्ला प्रहरी कार्यालयमा कसैलाई प्रवेश गर्न नदिई घटना मिलान गरेको जानकारी दिईन् ।
उनले भनिन्–‘हामी पुनः कार्वाहीको माग गर्ने छौं ।’
यस बिषयमा जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारीले भने कुटपिटको उजुरी परेकोले उनीहरु आफैं मिलेर गएको जानकारी दिए ।


