हजारौ नेपाली र भारतीय पर्यटक भेडेटारमा !
धनकुटा खबर । अंग्रेजी नयां बर्ष मनाउन धनकुटाको पर्यटकीय स्थल भेडेटारमा आन्तरीक र बाह्य पर्यटकहरुको भीड लागेको छ । आईतबारदेखि सुरु भएको छैठौ फुड फेस्टिवल(खाना मोहत्सव) मा सोमबार १० हजार भन्दा बढी पर्यटक आएकाको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बताए । पर्यटकको भिड लागेको कारण ट्राफिक ब्यबस्थापन समेत अस्तब्यस्त रहेको थियो ।

३० हजार आन्तरिक तथा वाह्रय पर्यटक भित्राउने योजना सहित सुरु गरिएको भेडेटार फुड फेस्टिबलको दोस्रो दिन सम्म १५ हजार पर्यटक भेडेटार आईसकेको आयोजकले जानकारी दिएको छ । पर्यटकले भेडेटारका साना र ठुलो सवै होटल भरिएका छन् । पर्यटकहरु आएकाले ४० लाख भन्दा बढीको कारोबार भईसकेको बताईएको छ ।

भेडेटारको फुड फेस्टिबलमा रुखको झ्याउँ र बंगुरको रगतलाई मिसाएर पकाएको लिम्बु जातीको याङवेन, कुखुराको प्वाँख डढाएर बनाएको धुलो र चमाल मिसाएर पकाएको राई जातीको वाचिप्पा (तिते) याम्फु जातीको चरिपा(कोदोको रोटी) सरुवा(जाँड) नेवारी खाना, थारु खाना र मासुका विभिन्न परिकारहरु मुख्य आकर्षण रहेको छ ।
त्यसैगरी होटलमा ढिडो, सिस्नो सेलरोटी, तरुल, गुन्द्रुक रहेका छन् । यी बाहेक अर्गानिक खेतीवाट उत्पादीत रायो साँग, सुन्तलातरकारी तथा फलफुलको प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनी रहेका छन् । यी खाना खाना र सामग्री किन्न पर्यटकहरुको भीड देखिएको छ ।


