धनकुटामा पनि जात्रा शुरु
धनकुटा खबर । देशभरीसंगै धनकुटामा पनि नेवारी समुदायको जात्रा पर्व शुरु भएको छ । यस क्रममा आज साउन २४ गतेबाट धनकुटाका नेवारी समुदायहरुले गठेमंगल (घण्टकर्ण) पर्व मनाएर जात्रा पर्व शुरु गरेका छन् ।
आज धनकुटा बजारका हरेक गल्लीहरुमा गठेमगलको प्रतिक राखेर डोरी लिएर सानाठूला ब्यक्तिहरु बाटो छेकेर‘गठे मंगल, पैसा नदिई कहाँ जालास्’भन्दै बाटो छेकेर बसेका छन् ।
गठेमंगल राक्षसलाई जलाउन पैसा उठाउने प्रचलन अनुसार यो डोरी छेकेर पैसा माग्ने गरिएको नेवापुः धनकुटाका अध्यक्ष ननिकिशोर शाक्यले बताए । आजकै दिनबाट बजार टोलमा लाखे नाच्न पनि शुरु गरिन्छ ।

यस पछि बर्ष भरी नेवारी समुदायका मृत परिवारको सम्झनामा गाई जात्रा निकाल्ने र भोली पल्ट रोपाई जात्रा मनाउने गरिन्छ । यी दिनहरुमा स्थानिय स्तरमा सामाजिक संघ,संस्थाहरु बिदा गरेर भब्य रुपमा जात्रा हेर्ने र मनाउने गरिन्छ ।
भदौ अष्टमीमा लाखे मारेपछि नवमीका दिन बिशेष पुजा गरेर जात्रा सकिने नेवापुचः धनकुटाले जानकारी दिएको छ ।


