हिलेमा धनकुटा गोल्डकप हुँदै, निःशुल्क खेल हेर्न पाईने
धनकुटा खबर । धनकुटाको हिलेमा आगामि मंसिर २६ गते देखि ३० गते सम्म धनकुटा गोल्डकप आयोजना हुने भएको छ । हिले फुटवल क्लवले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो ।
स्थानीय हिले खेल मैदानमा हुने प्रतियोगितामा पूर्वका विभिन्न ८ टोलीको सहभागीता रहने छ । आयोजकको हिले फुटवल क्लव सहित, नेपाली सेनाको वरख गण, धरान फुटवल फेन्ड क्लव, युनाइटेड युथ क्लव इलाम, दुहवी फुटवल क्लव सुनसरी, युस फुटवल क्लव मोरङ, इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्पोटिङ क्वल झापा सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित गोल्डकप ट्रफी र उपविजेताले नगद ५० हजार रुपैया पुरस्कार पाउने छ । प्रयोगिता संचालन गर्न करिव १४ लाख रुपैया वजेट विनियोजन गरिएको क्लव अध्यक्ष राजु तामाङले बताए ।
उनका अनुसार प्रतियोगितामा धनकुटा नगरपालिकाले २ लाख, १ नं. वडा कार्यालयले ५० हजार, यूकेमा रहेका धनकुटा वासीले ६० हजार, हङकङकमा रहेका धनकुटेलीले ५० हजार लगायत सहयोग संकलन भइरहेको छ । धनकुटा फुटवल संघको प्राविधीक सहयोग रहेको प्रतियोगिता फुटवल हेर्न दर्शकलाई निःशुल्क गरिएको छ ।


