मलको अभाव भएपनि धनकुटामा यो बर्ष ५ हजार मेट्रीक टनले धान उत्पादनमा वृद्धी हुने
शर्मिला राई, धनकुटा खबर । धनकुटा जिल्लामा यो वर्ष मंशिरे धान उत्पदनमा झण्डै ५ हजार मेट्रीक टनले वृद्धी हुने अनुमान गरिएको छ ।
कृषी ज्ञान केन्द्र धनकुटका अनुसार यस वर्ष धान खेतिका लागि आवश्यक पर्ने समयमा पर्याप्त वर्ष भएको र कोरोना माहामारीका कारण यसअघि शहरी क्षेत्रमा वसोवास गरिरहेका मानिसहरु समेत गाउँघर फर्केर खेतिपातिमा संलग्न भएकाले धान रोपाई गत वर्षहरुको तुलनामा केही वढी भएको कारण उत्पादन समेत वढ्ने अनुमान गरिएको हो ।
जसअनुसार गएको वर्ष ५ हजार ९ सय ६२ हेक्टर क्षेत्रफलमा लगाईएको खेतबिाट १८ हजार ६ सय ३ मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष जिल्लाको ७ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा धान खेती लगाईएको छ ।

यसरी हेर्दा गत वर्षको तुलनामा यो वर्ष २ हजार हेक्टर भन्दा वढी क्षेत्रफलमा धान खेती लगाईएको छ । यसबाट २३ हजार ४ सय ३९ दशमलव ७८ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको कृषी ज्ञान केन्द्र धनकुटका तथ्यांक अधिकृत छैटौ विशाल राईले जानकारी दिनुभयो ।
जिल्लाको धेरै स्थानमा धान उठाउने क्रम अझै जारी नै रहेकोले उत्पादनको यकिन तथ्यांक आउन केही समय लाग्ने उहाँले वताउनुभयो । रोपण क्षेत्रफलको हिसावले हेर्दा खेरी भने यो उत्पादन कम भएको उहाँको भनाई छ ।
मल अभावका कारण केही पछौटे धान खेतीमा किसानहरुले मल लगउन नपाएको हुँदा रोपण क्षेत्रफल अनुसारको उत्पादन नभएको हो । धनकुटाको कूल ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।


