सुन्तलाको उत्पादन घट्यो
शर्मिला राई /धनकुटा,माघ २५ । एशियाकै गुलियो र रसिलो सुन्तला उत्पादन हुने जिल्लाको रुपमा परिचित धनकुटा जिल्लामा यो वर्ष ३८ सय ८० दशमलव ८० मेट्रिकटन मात्र सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।
गत वर्ष जिल्लामा ५५ सय ३६ दशमलव ८० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष ३८ सय ८० दशमलव ८० मेट्रिकटन मात्र उत्पादन हुने अनुमान गरिएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष सुन्तलाको वगैचामा आएको ह्रास तथा सुन्तलाको चिचिला लागेको समयमा परेको असिनापानीका कारण उत्पादन घट्ने अनुमान गरिएको हो ।
पछिल्लो समय सुन्तलाको वोट नै मर्दैआएको कारण उत्पादन पनि घटदै आएको किसानहरुले वताएकाछन् । परम्परागत रुपमै सुन्तला खेती गर्दै आउनुभएका शहिदभूमी गाउँपालिका २ का स्थानिय वालकुमारी राईले यसअघिका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा सुन्तला उत्पादन घटदै आएको वताउनुभयो । यसपालि आफुहरुले वोटबाटै ८० देखी ९५ रुपयाँ प्रतिकिलो सुन्तला विक्रि गर्दै आएको राईले वताउनुभयो ।
धनकुटा, हिले वजारमा यतिखेर सुन्तलाको मूल्य प्रतिकिलो ६० देखी १ सय ५० रुपयाँ किलो सम्म रहेकोे छ । धनकुटा जिल्लाको ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।


