धनकुटाका मकै खेति गर्ने किसान चिन्तित
धनकुटा,२८ चैत । चैत बित्न लाग्दा समेत पर्याप्त बर्षा नभएपछि धनकुटाका मकै खेति गर्ने किसानलाई चिन्ताले सताउन थालेको छ ।
चैत महिना सूरु भए संगै मकै खेति सूरु हुने जिल्लाका माथिल्लो क्षेत्रका किसानले समेत मकै रोप्न पाएका छैनन् भने बेसीँ क्षेत्रका किसानका बारी एक सरो नजोती बाझैँ छन् ।
हिउँदका अन्य समयमा समेत बर्षा नभएका कारण अन्य बाली समेत नलगाएका किसान लाई मूख्य बाली मकै लगाउने समयमा समेत बर्षा नहुदाँ समस्या भएको हो । धनकुटामा सिंचाइको पर्याप्त सुविधा छैन् ।
धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया , तांखुवा, मौनाबुधुक,बसन्तटार लागायतका स्थानमा व्यावसायकि मकै खेति हुने गरेको छ ।
धनकुटामा देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट, तथा अरुण १ र २ जातको मकै खेति हुने गरेको छ भने जिल्लाको कुल खाद्यन्यको करिब ३५ प्रतिशत योगदान मकै खेतिको रहेको छ । धनकुटामा करिब १३ हजार हेक्टरमा मकै खेति हुने गरेको छ ।


