मुलुक निर्वाचनतिर जाने सम्भावना
सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक समझदारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नपाउने र मुलुक निर्वाचनतिर जाने सम्भावना बढेको छ ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका बेला जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्तिमार्फत प्रतिपक्षमा बस्ने जनाएका हुन् ।
जसपाको यो समझदारीले बहुमतको समर्थन लिएर सरकारको निरन्तरता दिन खोजेका प्रधानमन्त्री ओलीलाई झट्का लागेको छ । यसले जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताअनुसार अघि बढ्नसमेत प्रधानमन्त्री ओलीलाई चुनौती खडा गरेको छ ।
प्रतिनिधिसभामा अहिलेको अंकगणितले जसपाको सिंगो समर्थन जतातिर हुन्छ, मुलुकको राजनीतिक परिदृश्य त्यतैतिर ढल्कने स्थिति छ । ठाकुर र यादवको समझदारीले भने ओली नेतृत्वको सरकारले निरन्तरता नपाउने र मुलुक मध्यावधि निर्वाचनतिरै धकेलिने सन्देश दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।


