नेवार समुदायमा सिथि नखः पर्व मनाइँदै

भादगाउँ, २ असार । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ ।

ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ । यस दिन विषेशगरी कुमारलगायत सबै देवीदेवतालाई मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) चतामरी, मालपुवा, आरुबखडा, काँक्रो र सचुं(भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी) चढाउने र आफूले पनि भोजन गर्ने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ ।

चाडपर्वका नाममा ऋतुअनुसारको पकवान खान सिपालु नेवार समुदायले यस दिन वः, चतामरी र सचुंको भोजन गरेर शरीरलाई वर्षा खप्न सक्ने बनाउने संस्कृतिकर्मीहरु बताउँछन् । धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । बर्सातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःका दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चतामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहेको प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

सिथि नखः पर्वले नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाइँ) शुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

नेवार समुदायमा सिथि नखःले दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा श्रेष्ठ बताउनुहुन्छ । “पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले बर्सातको बेला धान रोपाइँ जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ”, उहाँले भन्नुभयो ।

नेवार समुदाय कला, संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरि अनेकथरी कला, सांस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन् तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् ।

नेवारीमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिकरूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहेको प्रा डा श्रेष्ठको कथन छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।