महाधिवेशन नजिकिँदै जाँदा ,कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।

देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।

सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्थापन इतर पक्षले आआफ्नो अडान लिँदै आइरहेका छन् ।

संस्थापन पक्षले सदस्यताको विषयलाई सहमतिबाटै टुंग्याउने प्रयत्न गरिरहेको छ भने इतर पक्षले जथाभावी रूपमा सदस्यता बाँडिएको भन्दै कडा छानबिनको माग गर्दै आइरहेको छ । इतर पक्षका हरेकजसो नेताहरूको बैठकमा यो विषय उठ्दै आइरहेको छ ।

सदस्यता छानबिन समितिका सदस्य नेता जीवन परियारले मापदण्ड नबन्दा छानबिनमा समस्या देखिएको बताए । ‘अहिलेसम्म मापदण्ड बनेको छैन, एक दुई दिनभित्र टुंगो लगाउने आश्वासन शीर्ष तहबाट आएको छ, त्यसपछि हामी काम टुंग्याउँछौं,’ समितिका सदस्य रहेका नेता परियारले राजधानीसँग भने ।

कांग्रेसमा विजयकुमार गच्छदार नेतृत्वको लोकतन्त्रिक फोरम, राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा नेतृत्वको समूह र अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई पार्टीमा समायोजन गर्न र उनीहरूलाई दिएको क्रियाशील सदस्यताको विषयमा धेरै विवाद देखिएको छ।

कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म कांग्रेस केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा ८ लाख २० हजार क्रियाशील सदस्यता इन्ट्री भइसकेको छ । त्यसमध्ये ३ लाख ९२ हजार पुराना र बाँकी नयाँ हुन् । करिब ६ लाख क्रियाशील सदस्यता निर्विवाद छन् भने र २ लाख २० हजार सदस्यता छानबिन क्रममा छन् ।

४ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २० असारसम्म क्रियाशील सदस्यता विषय टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यादेश क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको थियो ।

तर, अझै पनि बर्दिया, बारा र सिन्धुपाल्चोकको सदस्यता नामावली पार्टी केन्द्रीय कार्यालयको सर्भरमा इन्ट्री भएको छैन । जसका कारण सो समयभित्र समितिले काम सक्ने सम्भावना अब न्यून हुँदै गएको छ ।

केही दिनअघि मात्रै समितिले मापदण्ड नबन्दा विवाद समाधान गर्न समस्या भएको भन्दै शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराएको थियो । कांग्रेसको क्रियाशील सदस्यताको विवाद सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ ।

छानबिन समितिलाई शतप्रतिशतभन्दा बढी नयाँ सदस्यता फाराम भरेका वडामा कसरी विवाद मिलाउने भन्ने समस्या परेको छ । यस्तै, तहगत रूपमा सिफारिस भएर आउनुपर्नेमा कुनै तह छुटाएर आएकालाई कसरी हेर्ने ? नेपाल लोकतान्त्रिक फोरमभित्रको समयोजनको विवादलाई के गर्ने ? र अन्य पार्टीबाट आएका भनिएकाहरूको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि समस्या देखिएको छ । समितिले यही आधारमा मापदण्डको प्रारम्भिक मस्यौदा बनाएर शीर्ष नेतृत्वलाई बुझाएको थियो ।

निधि, कोइराला र सिंहले केन्द्रीय सदस्यसँग छलफल गर्ने

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकामान सिंहले महाधिवेशनबारे पार्टीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।

नेता सिंहको ठमेलस्थित निवासमा मंगलबार बसेको तेस्रो चरणको छलफलपछि तीनै नेताहरू अबको छलफल केन्द्रीय सदस्यसँग गर्ने निर्णयमा पुगेका हुन् ।

नेता सिंहले अबको छलफल केन्द्रीय सदस्यसँग हुने जानकारी दिए । ‘हामी तीन चरणको छलफलमा बस्यौं अब केन्द्रीय सदस्यहरूसँग हामी छलफल गर्छाैं, त्यसपछि नेतृत्वबारे कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ नेता सिंहले बैठकपछि भने ।

सिंहका अनुसार आगामी शुक्रबार महामन्त्री कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल आयोजना हुनेछ । केन्द्रीय सदस्यसँगको छलफलपछिको अर्को चरणमा भने १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरूसँग पनि छलफल गरिने नेता सिंहले जानकारी दिए ।

तीन नेताबीच निरन्तर महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल हुँदै आइरहेको छ । उनीहरूबीच हाल पार्टीभित्र रहँदै आएका गुट अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा छलफल हुँदै आइरहेको छ ।

नेता त्रयबीच सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यसपटक नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको छ । सो रणनीतिअनुसार सबै आकांक्षीबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्वीकार्ने विषयमा उनीहरूबीच छलफल भइरहेको हो ।

नेता त्रयबीच यसअघि महामन्त्री कोइरालाको निवास महाराजगन्जमा ११ असारमा छलफल भएको थियो भने त्यसअघि ७ असारमा उपसभापति निधिको मध्यबानेश्वरस्थित निवासमा छलफल भएको थियो । कांग्रेसको १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदै छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।