पुम्दीकोटमा महादेवको मूर्ति स्थापना

कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ ।

गन्तव्य सूचीमा सूचीकृत धार्मिक एवं ऐतिहासिकस्थल पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिएको छ।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताउनुभयो ।

“कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको छ”, उहाँले भन्नुभयो, “मूर्ति स्थापना गरिए पनि लक्ष्यअनुसारका सबै काम सम्पन्न गर्न अझै केही समय लाग्नेछ । पुम्दीकोट कोट विकास समितिको सक्रियतामा रु ४० करोडको लागतमा मूर्ति स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

समितिले १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएकोे हो । समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो ।

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो ।

समितिले बृहत् गुरुयोजना तयार गर्दै त्यसअनुरुप काम अघि बढाएको थियो । लक्षित योजनाअनुसार कोरोना कहरबीच पनि कामले गति लिएको बताउँदै संयोजक बरालले यसबीचमा महादेवको मूर्ति स्थापना गरिएको जानकारी दिनुभयो । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् ।

समितिले गुरुयोजनाअनुसार आगामी दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य लिएको छ । त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ । त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिनुभयो ।

“कोरोनाका बाबजुद पनि सजगता अपनाइ दैनिक २०–२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको हो”, उहाँले भन्नुभयो, “असार र साउन महिनामा भने लगातारको वर्षाका कारण काम रोक्नुपरेको थियो ।” गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने अनुमान गरिएकामा उक्त लागत बढ्ने देखिएको छ । हालसम्मका काम सम्पन्न गर्न लगभग रु २० करोड खर्च भइसकेको संयोजक बरालले जानकारी दिनुभयो ।

फेवाताल सहितको पोखराबजार, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रेको काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिएको समितिका सहसचिव प्रकाश बरालको चचा थियोे । कोरोनाका कारण आगामी दिनमा निषेधाज्ञा गर्न नपरे असोज महिनामा पहिलो चरणको काम सम्पन्न गरी उद्घाटन कार्यक्रम गर्ने सोचमा रहेको उहाँको भनाइ थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।