ओलि ले आफ्ना बिगत का कमि कमजोरी आत्मसात गर्दै यसो भने

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ ।

केन्द्रीय कमिटीको १०औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए ।

अध्यक्ष ओलीले बैठकमा विगतमा आफूबाट भएका कमी कमजोरीलाई पनि स्वीकार गरेका थिए । ‘समयमा निष्कर्षमा पुग्न नसक्नु मेरो पनि कमजोरी हो, ममा यो कमजोरीको महसूस भएको छ,’ उनले भने ।

अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताउँदै पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने स्पष्ट पारे । उनले अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने बताए ।

अध्यक्ष ओलीले उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन आह्वान गरे ।

बैठकमा पछिल्लो समयमा पार्टीमा ठूलो क्षति भए पनि १० बुँदे सहमतिको कार्यान्वयनले पार्टीको थप क्षति बचाउन सक्ने निष्कर्ष निकालिएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन र पार्टी एकताका लागि आममाफी दिएर भए पनि धेरैलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।

प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको बताए । १० बुँदे प्रस्तावको कार्यान्वयनसँगै पार्टीको संगठनात्मक व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका कामलाई राजनीतिक पूर्वाग्रहका कारण अवरोध गर्ने तयारी भइरहेको पूर्व सूचना प्राप्त भएकाले यसो गर्नु देशैभरिका लाखौं भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको भावनामाथि घात हुने निष्कर्ष एमालेको छ।

एमालेले यस्ता कुनै पनि निर्णय या गतिविधि नगर्ने गम्भीर ध्यानाकर्षण गराएको छ । साउन ४ गतेबाट शुरू भएको बैठक ४ दिनपछि सकिएको छ ।

पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसमा बोल्दै ओलीले नेपाल पक्षलाई सँगै मिलेर पार्टीमा काम गर्न आह्वान समेत गरेका छन् । ओलीले भने, ‘बाटो बिराएका र भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड, आउनुहोस् मिलेर काम गरौं ।’

एमालेका तेस्रो तहका नेताले पार्टी एकता अभियान शुरू गरेका छन् । संस्थापन र नेपाल दुवै पक्षका तेस्रो तहका नेताले एकता दबाब अभियान शुरू गरेका हुन् । अभियानमा संस्थापन तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटीलगायत छन् ।

नेपालतर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढालगायत सामेल छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेपाललगायत २२ जना प्रतिनिधिसभा सदस्यलाई पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्माले बुधवार २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

वरिष्ठ नेता नेपालले सर्वोच्चको फैसला र लोकतन्त्रको रक्षाका लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिइ आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवाको पक्षमा उभिन परेको नेपालले बताएका छन् ।

नेपालको ४ बुँदे स्पष्टीकरणको जवाफमा पार्टी अध्यक्ष ओलीले नै विधानको गम्भीर उल्लंघन गरेकाले आफू विपक्षमा उभिएको बताइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।